‘प्रचण्ड सरकार’को एक वर्ष पुरा, समृद्धि र सुशासन गफमै सीमित


मेचीकाली

काठमाडौं-आज पुस १०, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनेको एक बर्ष पुगेको दिन ।

२०७९ पुस १० गते नेकपा एमालेसहितका दलहरुको समर्थनमा प्रचण्ड तेस्रोपटक मुलुकको प्रधानमन्त्री बनेका थिए । चौतर्फी निराशाबाट घेरिएका जनतालाई एमाले–माओवादी नेतृत्वको यो सरकारले केही काम गर्ला भन्ने विश्वास पनि जागेको दिन । तर, राजनीतिक दाउपेच र सत्ताको खेलले यो एक वर्ष फेरि निराशामै वितेको छ । 

एमालेसँगको सहकार्य छाडेर दुई महिनामै कांग्रेससँग सहकार्य गर्दै सत्ता बचाउन लागिपरेका प्रधानमन्त्री प्रचण्डले एक वर्ष पुगेसँगै अब चाहिँ देखिने गरी काम गर्ने बताउन थालेका छन् । यसका लागि आज राष्ट्रका नाममा संवोधन गर्दैै केशी विशेष घोषणा गर्ने तयारीसमेत उनले गरेका छन् ।

यहीबीचमा पटकपटक मन्त्रीपरिषद पुनर्गठन गरेका उनले फेरि पुनर्गठनको तयारी पनि अघि बढाएका छन् । काम गर्न नसक्नेलाई विदा गरेर नयाँलाई अवसर दिने उनको भनाई छ । तर, प्रधानमन्त्री प्रचण्ड आफैं एक वर्ष अन्योलको भूमरीमा फसेका छन् ।

गफअनुसार काम भएन

यो कार्यकाल चाहिँ उत्कृष्ट बनाउने घोषणा प्रधानमन्त्री प्रचण्डले गरेका थिए । तर, यसबीचमा जनतामा छाएको निराशाको वादल हट्नुको साथै झनै बढेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले प्रचण्ड नेतृत्वको सरकार सुशासन, विकास र सेवा प्रवाहमा कमजोर रहेको टिप्पणी गरेको छ । सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास जस्ता प्रकरणमा सरकारले शुरुवातमा राम्रै गति लिए पनि अहिले सुस्त अवस्था छ । अर्थतन्त्र सुधारमा पनि धेरै काम गर्न सरकारले सकेको छैन । त्यस्तै, सङ्क्रमणकालीन न्यायसम्बन्धी काममा अहिले पनि निरन्तर बहस हुँदै आएको छ । अरु विकास निर्माणका काम पनि अपेक्षाअनुसार नभएको आम गुनासो छ । यसबाट आम नागरिकमा निराशा कायमै छ । तर सरकारले आर्थिक समृद्धिका लागि केही महत्वपूर्ण काम गरेको दाबी गरेको छ । 


प्रतिक्रिया



थप समाचारहरु