एमालेको संकल्प यात्रा आज सकिँदै, यस्तो रह्यो निष्कर्ष


मेचीकाली

काठमाडौं–नेकपा एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आज सकिने भएको छ । संकल्प यात्राको आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन गर्न लागिएको हो । 

पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ । आजको यात्रा १ सय १ किलोमिटर रहेको छ । यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ । गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरू सहभागी छन् । 

नागरिक किन पलायन भइरहेका छन् ? समाजमा किन निराशा छ ? समस्याका कारण के हुन् ? जस्ता प्रश्न उठाएर एमालेले बैतडीको झुलाघाटबाट मंसिर १४ मा मध्यपहाडी राजनीतिक यात्रा सुरु गरेको थियो । राजधानी र गाउँको दूरी घटाउन, सम्बन्धहरू बढाउन, समस्याको समाधान निकाल्न राष्ट्रिय सन्देश निर्माणका लागि एमालेले यो यात्रा सुरु गरेको थियो ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको मध्यपहाडी पुष्पलाल राजमार्ग यात्रामा मुख्यगरी तीन निष्कर्ष निस्किएको बताए । विकास पहाडी गाउँ पसेको तर स्थानीय सहर पस्दै गएको, कृषिलगायत उत्पादन घटेको, रोजगारीको समस्या विकराल बन्दै गएको र, जलवायुको असर जबर्जस्त देखिएको उनको भनाई छ । यी समस्या समाधानका लागि महत्त्वपूर्ण तथ्य तथ्यांक प्राप्त भएको बताउँदै ज्ञवालीले प्राप्त सुझावलाई विश्लेषण गरी आगामी दिनमा ठोस योजना बनाउने बताएका छन् । 

करिब दुई हजार किलोमिटर यात्रामा ३० ठूला सभा र करिब एक सय साना कार्यक्रमबाट एमालेले महत्वपूर्ण राजनीतिक सन्देश पाएको ज्ञवालीले बताएका छन् । जनताको गुनासा÷सुझाव सुन्न चुनावबाहेक अरू बेलामा पनि राजनीतिक दलहरू गाउँ आउनुपर्ने हजारौंले सुझाव दिएको उनको भनाई छ ।


प्रतिक्रिया



थप समाचारहरु