काभ्रे–मकवानपुर जोड्ने पुल : सात वर्षमा पनि बन्न सकेन


मेचीकाली

खानीखोला– काभ्रे र मकवानपुर जिल्लालाई सडक सञ्जालमा जोड्न बागमति नदिको सिक्रे दोभानमा पक्की पुल निर्माण सुरु भएको ७ वर्ष भइसक्यो । तर, दुई वर्षमा निर्माण भइसक्नुपर्ने पुलले सात वर्षसम्म पुलको आकारसमेत लिन सकेको छैन । 

पुल निर्माणका लागि स्थानीय र प्रदेश सरकारले बारम्बार ताकेता गरिरहेका छन्, उता ठेकेदारको भने आफ्नै गुनासो छ । पुल नबन्दा सर्वसाधारणले भने सास्ती खेप्तै आएका छन् ।

तत्कालिन जिल्ला विकास समितिको कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७३÷०७४ मा बोलपत्र आह्वान गरी बागमती नदिमा पुल निर्माणको काम अघि बढाएको थियो । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बागमती गाउँपालिका–५ जोड्ने सिक्रेदोभानस्थित बागमती नदिमा सडक पुल निर्माण अलपत्र परेपछि  बागमती नदि हुँदै आवतजावत गर्ने दुर्व जिल्लाका नागरिकले सास्ती व्यहोर्नुपरेको छ । दुई वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको निर्माण व्यवसायीले सात वर्षसम्म पुरा नभएपछि काभ्रेपलाञ्चोकको खानीखोला र महाभारत गाउँपालिकाका नागरिकले प्रदेश राजधानी हेटौँडा आवतजावत गर्न सास्ती व्यहोर्नुपरेको खानीखोला गाउँपालिकाका अध्यक्ष ईन्द्रबहादुर थिङले बताए । पुल निर्माण भएपछि दुई गाउँपालिकाका नागरिक प्रदेश राजधानी पुगेर काम सम्पन्न गरी साँझ घर आईपुग्ने अवस्था बन्ने उनको भनाई छ । 

पुल निर्माण भएपछि खानीखोला र महाभारत गाउँपालिकाका नागरिकहरुलाई किनमेलका लागि समेत सदरमुकाम धुलिखेलभन्दा हेटौडा नजिक हुनुको साथै दुई घण्टामा खानीखोलाको केन्द्र तालढुङ्गाबाट प्रदेश राजधानी पुगिनेछ । 

पुल निर्माणको ठेक्का पाएको महादेव÷शिखर÷तामाकोशी जेभीले समयमा काम सम्पन्न नगरेपछि पछिल्लो एक वर्षदेखि प्रदेश सरकारले समेत ताकेदा गर्दै आएको छ भने प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले पटक÷पटक पटक पुल निर्माण स्थलको अनुगमन गरेका छन् । हालै पुल अनुगमनका लागि सिक्रेदोभान पुगेका मन्त्री दुलालले चालु आर्थिक वर्षभित्र पुल निर्माणको काम पुरा गर्न निर्माण व्यवसायी कम्पनीलाई निर्देशन दिएका छन् । प्रदेश सरकारले पुराना ठेक्का चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने या ठेक्का तोड्ने भन्ने विषयमा बजेटमा नै घोषणा भएको उनले बताए । उक्त पुल निर्माणका लागि महादेव/शिखर/तामाकोशी जेभीसँग भ्याट बाहेक ११ करोड ६५ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

निर्माण व्यवसायी भन्छन्, 'सडक नै नभएको ठाउँमा पुल बनाउन लगाइयो' 

उक्त पुल निर्माणको ठेक्का पाएको महादेव/शिखर/तामाकोशी जेभीका निर्माण व्यवसायीहरुले तत्कालिन जिविसले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाएका कारण पुल निर्माणको काममा ढिलाई भएको जनाएका छन् । निर्माण व्यवसायी खड्ग गोपालीले सडक नै नभएको स्थानमा पुल निर्माणको ठेक्का लगाइएको र ठेक्का लागेपछि पहिलेको ठाउँभन्दा माथि पुल बनाउनुपर्ने र अप्ठेरो स्थान भएकोले काममा ढिलाई भएको बताए । उनले पुल निर्माण हुने स्थानसम्म जानको लागि साढे पाँच किलोमिटर सडक खन्ने क्रममा पुल निर्माण गर्ने दुई वर्षको समय सकिएको बताए । 

अर्का निर्माण व्यवसायी विजय थापाले तत्कालिन जिविस खारेज भएपछि दश महिना अन्यौलता रहेका कारण पनि पुल निर्माणको काम समयमा नै सुरु गर्न नसकिएको बताए । हाल मकवानपुरतर्फको पिल्लर उठाउने, नदिको बीचमा पाइलिङको काम र काभ्रेपलाञ्चोकतर्फ बस्ने पिल्लरको पाइलिङको काम सुरु भएको उनले बताए । उनका अनुसार  हालसम्म पुल निर्माणको ३० प्रतिशत काम सकिएको छ भने फागुन मसान्तसम्म पिल्लर उठाउने काम सकेर मकवानपुरतर्फको एउटा ल्याब ढलान गरिनेछ । 

आगामी असार मसान्तभित्र पुल निर्माणको काम सकिने बताउँँदै उनले हालसम्म पाँच किलोमिटर सडक ट्रयाक निर्माण वापतको सवा दुई करोड रुपियाँ प्राप्त गर्न नसकिएको गुनासो पनि गरेका छन् । 


प्रतिक्रिया



थप समाचारहरु