बनेपा- नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशनको तयारी तीब्र गतिमा भइरहेको छ । अधिवेशनका लागि गठन गरिएका विभिन्न उपसमितिले आफ्नो तयारीलाई तीब्र बनाइरहँदा जनपरिचालन समितीले पनि तयारीलाई जोडतोडका साथ अघि बढाएको छ । उक्त समितिका संयोजक युवा नेता कञ्चन अधिकारी हुन् । संयोजक अधिकारीले काभ्रेको इतिहासमै सबैभन्दा ठूलो आमसभाको तयारी गरिरहेको बताएका छन् ।
नेकपा एमाले काभ्रेको सबैभन्दा ठूलो राजनितीक शक्ति भएकाले उसको आमसभा विशाल र काभ्रेकै इतिहासमा ठूलो हुने उनले बताए । एमाले काभ्रे धेरै संगठित सदस्य भएको र काभ्रेको विकास र समृद्धिको एजेण्डा बोकेको दल भएकाले यसको अधिवेशन भव्य हुने अधिकारीले जानकारी दिए । उनले अधिवेशनले काभ्रेमा एमालेको अवस्थाको मात्रै चित्रण गर्ने नभएर आगामी निर्वाचनमा एमालेको आकार कस्तो बनाउने भन्ने भएकाले कम्तिमा ५० हजारको उपस्थितीमा आमसभा गर्ने बताए । काभ्रेलाई समृद्ध बनाउने विकासको नेतृत्व एमालेले गरेको र काभ्रेको विकासको रोडम्याप एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले गरेकाले अधिवेशनमा कम्तिमा पनि ५० हजारको सहभागिता हुने अधिकारीको दाबी छ ।
उनले कसैको भ्रममा नपर्न काभ्रेबासीलाई अनुरोध पनि गरे । ‘यो नेकपाकै निरन्तरता हो । हजारौ कार्यकर्ता र नागरिकको उपस्थितीमा विशाल आमसभा हुनेछ’ अधिकारीले भने । नेकपा एमालेको सिंगो पार्टी र माओवादीका धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेकाले पनि काभ्रे एमालेको जिल्ला अधिवेशनले धेरै कुराको सन्देश दिने अधिकारीले बताए ।
जिल्ला अधिवेशनको तयारीबारे अधिकारी भन्छन्,
जिल्ला अधिवेशन विगतमा जस्तै भव्य, सभ्य र व्यवस्थित हुने गरेको छ । यसलाई आम काभ्रेलीले मात्रै नभएर छिमेकी जिल्लाहरुमा समेत हेर्ने भएकाले हामीले व्यापक तयारी गरिरहेका छौ । अधिवेशनलाई सफल बनाउनको लागि प्रत्येक पालिकामा बैठक गरिरहेका छौ । प्रत्येक पालिकाले हजारौको संख्यामा जनसहभागिता जुटाउने तयारीमा हामी लागेका छौ । पालिकाको बडा तथा टोलमा बैठक बस्ने प्रचार गर्ने काम गरिरहेका छौं ।
२०६४ सालमा एमालेको सातौ जिल्ला अधिवेशन काभ्रेकै विशाल भएको थियो । जुन बेला माओवादीको दबदबा रहेको थियो । त्यस्तो समयमा काभ्रेको इतिहासमै सबैभन्दा ठूलो जनसहभागितामा हामीले जिल्ला अधिवेशन गरेका थियौ । सो अधिवेशनको जगमा २०७० सालको निर्वाचनमा काभ्रेमा एमाले पहिलो पार्टी बन्न सफल भयो । त्यसपछि निरन्तर काभ्रेमा पहिलो पाटीको रुपमा एमाले स्थापित छ । स्थानीय तहको निर्वाचनमा काभ्रेमा १३ मध्ये ७ वटा स्थानीय तहमा बहुमत सहित एमाले विजयी भएका छन् । हामीले धुलिखेल अधिवेशनबाट काभ्रेमा एमालेको अवस्था कस्तो रहेको छ भनेर देखाउन चाहेका छौं । अधिवेशनलाई लिएर गाँउ गाँउमा उत्साह छाएको छ । विद्यार्थी, युवा, मजदुर, किसान, बुद्धिजिवी पौष २३ को व्यग्र प्रतिक्षामा रहनु भएको छ । एमालेको १० औ जिल्ला अधिवेशनले नेकपाकै निरन्तरता रहेको सन्देश दिन चाहन्छ । सिंगो एमाले र माओवादीका जिम्मेबार नेताहरु काभ्रेमा एमालेसँग रहेको कुरा पुष्टि अधिवेशनले गर्छ ।