पार्टी भित्रका नेतालाई ‘मोहरा’ बनाई संसद विघटनसम्म गरियो– अध्यक्ष प्रचण्ड


Mechikali

धुलिखेल– नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्यूनिष्ट पार्टी एकताबद्ध भएपछि हुने समृद्धि, विकास एकथरी मानिसहरुलाई मन नपरेकोले पार्टी भित्रै ‘दलाल’ र ‘मोहरा’ बनाई संसद विघटनसम्मको अभिष्ट पुरा गरेको आरोप लगाएका छन् । धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनकोे राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हिजोदेखि सामन्ती निरंकुशतन्त्र राज्य चलाएका, त्यसलाई लुटेर बैभव हाँसिल गरेका मानिसहरुको सानो समुहलाई हाम्रा सबै कामहरु मन परेको थिएन जनताको बिरोध र आन्दोलनको बलले तीनिहरु पछि धकेलिएका थिए तर पुँजीको तागत, अनुभवको तागत, राज्यभित्रको सयौँ वर्षदेखिको पकड जमाएकाहरु मौकाको पर्खाईमा थिए, उनीहरु संविधानलाई कागजको खोस्टोमा परिणत गर्न शान्ति सम्झौतादेखि नै विभिन्न कसरत गरिरहेको तथा संविधान बनाउँदा कतिसम्म कसरत भएका थिए मैले राम्रो सँग नियाले र त्यसका पीडा मैले भोगेको छु’ उनले थपे । अध्यक्ष प्रचण्डले संसद पुनस्र्थापना हुँदा संवैधानिक इजलाशले वर्तमान सरकारलाई ७६ (१) को सरकार भनेर घोषणा गरेको र त्यही अदालतका दुई न्यायाधिशले ७६(२) को सरकार बनाइदिएको भन्दै यो स्वभाविक नभई अस्वभाविक रुपमा अघि बढेकोले आफुहरु गम्भिर र सतर्क रहेको बताए ।
उनले माओवादी केन्द्रलाई अब कुन मोडालिटीमा अगाडि बढाउने भन्ने बारेमा केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको बताउँदै पार्टीसँग निकट रहेका भातृ संगठन, जनवर्गिय र सहयोगी संघसंगठनसँग सुझाव समेत मागेका छन् । ‘पार्टीको पूर्व संरचना जस्ताको तस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने, या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटिमा छलफल गरिरहेका छौँ’ दाहालले भने ।
कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पछिल्लो समय नेपालको कम्यूनिष्ट आन्दोलनमा ठुलो सङ्कट पैदा भएको बताउँदै संकटलाई निराशातर्फ भन्दा पनि चुनौतीको रुपमा लिएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले आजसम्मका आन्दोलनमा रहेका कमीकमजोरीलाई सच्याउँदै नेतृत्वले आफ्ना कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने आवश्यकता रहेकोले माओवादी केन्द्रलाई नयाँ ढङ्गले सङ्गठित गरेर अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु