धुलिखेल विवाद : आठवटा वडाको मत गनिसकेपछि न्यायाधीशलाई गल्ती महसुस !*


मेचीकाली

काभ्रे — स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत धुलिखेल नगरपालिकाको मतगणनामा भएको विवाद बढ्दै गएको छ । उम्मेदवार नभएको चिह्नको मत सदर वा बदर

के गर्ने ? भन्ने विषयमा विवाद भएपछि मतगणना मंगलबार दिउँसोबाट हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विवाद समाधानका लागि निर्वाचन आयोगलाई पत्र लेखेको छ । 

मतगणना सुरु हुनुअघि दलहरूसहितको बैठकले एउटै पदमा उम्मेदवार नउठेको र उठेको पद दुवैमा छाप छ भने उम्मेदवार भएको पदमा त्यो संकेत सदर मान्ने सहमति गरेको थियो । सोहीअनुरुप वडा नम्बर ८ सम्मको मतगणना सकेर घोषणासमेत भइसकेको छ ।

वडा नम्बर ९ को मत गणना गर्ने बेलामा निर्देशिकाविपरीत सहमति भएकोमा आफ्नो गल्ती महसुस गर्दै मुख्य जिल्ला न्यायधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले दलहरूसँग छलफल गरेका थिए । ‘उम्मेदवार नभएको चिह्न र अरु कुनैमा मत संकेत भएकोलाई सदर मान्दै आएका थियौं, गलत भएको महसुस भएपछि हामीले नै दलहरूसँग छलफल गरेका हौं,’ सहायक निर्वाचन अधिकृत शेषराज दाहालले भने, ‘हामीले गल्ती स्वीकार्दै आयोगलाई पत्र लेखेका छौं । आयोगकै निर्देशनअनुसार अघि बढ्छौं ।’ आफैंले गरेको गल्ती सच्याउन आफूले नमिल्ने भन्दै संवैधानिक निकाय, अदालतले दिने निर्णयअनुसार अघि बढ्ने दाहालले बताए ।

छलफलमा कांग्रेसलगायत अन्य दलले मतगणनाअघि भएको सहमतिअनुसार यसअघि घोषणा भएका ८ वडाअनुसार नै बाँकी वडाको मतगणना हुनुपर्ने अन्यथा यसअघिका सबै वडामा पुनः गणना वा मतदान हुनुपर्ने अडान राखेका थिए भने एमालेले नयाँ नियमअनुसार हुनुपर्ने अडान राखेको थियो । जिल्लाका पार्टी प्रमुखहरूको छलफलले समेत निकास निकाल्न सकेको छैन ।

निर्देशिकाविपरीत यसअघि गरिएको मतगणना बदर गरी पुनः मतगणना गर्ने वा यसअघि घोषणा गरिएको सदर गरेर बाँकी निर्देशिकाअनुसार भए अदालत जाने तयारीमा कांग्रेस, स्वतन्त्र उम्मेदवारलगायतको तयारी छ । मतगणना निर्देशिकासमेत जानकारी नहुने न्यायधीशलाई कारबाहीको मागसमेत उनीहरूको छ ।

धुलिखेलमा एमालेका अशोक व्याञ्जु र गठबन्धनको समेत समर्थन रहेका स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतबीच प्रतिस्पर्धा छ । आफ्नो पकड भएको क्षेत्रमा आएपछि एमालेले हार्ने डरले पछि विवाद निकालेको बस्नेत पक्षको आरोप छ भने एमालेले निर्देशिकाविपरीत गणना हुन नसक्ने बताउँदै आएको छ ।

-कान्तिपुरबाट

*शीर्षक परिवर्तन गरिएको 

प्रतिक्रिया



थप समाचारहरु