महेश खरेललाई गोकुल बाँस्कोटाको प्रश्न, 'फेसबुकमा रोएर झुट बोल्दैमा सत्य हुन्छ ?'


मेचीकाली

पाँचखाल : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पाँचखाल नगरपालिकाका निवर्तमान नगर प्रमुख महेश खरेलले झुटको खेती गरिरहेको आरोप लगाएका छन् । 

जनतालाई अब पाँचखाललाई अमेरिका बनाउने सपना बाँड्दै चुनाव जितेपनि अहिले अलपत्र बनाएको बास्कोटाको आरोप छ । ‘हिजो अमेरिका बनाउने सपना देखाएर चुनाव जित्ने, अहिले न पाँचखाल बन्यो न अमेरिका’ आज पाँचखाल नगरपालिका वडा न. ७ मा आयोजित नेकपा एमालेको चुनावी कार्यक्रममा संवोधन गर्दै बास्कोटाले भने, ‘सत्यको सामू झुटको केही लाग्दैन ।’

फेसबुकमा रुवाबासी गर्दैमा पाँचखालका जनताले अब झुटमा विश्वास नगर्ने भन्दै बास्कोटाले ३ हजार जनालाई रोजगारी दिने झुटो बाचा गरेर खरेलले आफ्ना आसेपासेलाई नगरपालिकामा भर्ति गरेको बताए । ‘३३ जना कर्मचारी राखेर के जात्रा गरेको ? ३ हजार जनतालाई रोजगारी दिन्छु भनेको आफ्ना मान्छेलाई रोजगारी दिएर कसरी विकास भयो ?’ बास्कोटाको प्रश्न छ ।

सुनकोशी–पाँचखाल खानेपानी आयोजनाका लागि आफ्नो पहलमा बजेट व्यवस्थापन गरेको जानकारी दिँदै बास्कोटाले विकास निर्माणको काममा एमालेले पार्टी र झण्डा हेरेर व्यवहार नगरेको पनि बताए । खानेपानी आयोजनामा कांग्रेसकै नेतालाई अध्यक्ष बनाएर काम अघि बढाएको र आफ्नै पहलमा २ अर्ब २२ करोड रुपैयाँ बजेट ल्याइएको उनको भनाई छ । असल काम गर्नेलाई एमालेले सधैं सम्मान गरेको उनले बताए ।

पाँचखाल नगरपालिका कार्यालयलाई निवर्तमान नगर प्रमुख महेश खरेलको निजी अड्डा बनाएको भन्दै बास्कोटाले पार्टीको मिटिङ र बैठक नगरपालिकामा नराख्न चेतावनी दिए । नगरपालिका कार्यालय महेश खरेलको निजी अड्डा होइन ? नगरपालिका कार्यालयलाई पार्टी कार्यालय बनाउने दुरुपयोग गर्ने हर्कत बन्द नभए एमालेले आफ्नो झण्डा ल्याएर गाड्नेछ ?’ बास्कोटाको चेतावनी छ  । 

आफू काभ्रे क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि प्रत्येक विद्यालयमा कम्प्युटरको व्यवस्था गरेको, विशेष आर्थिक क्षेत्रको विषयमा किसानमाथि लगाइएको मुद्दा हटाएर काम अघि बढाएको उनले बताए । मदन भण्डारी विश्वविद्यालय पाँचखालमा आउनुमा खरेलको कुनै भूमिका नरहेको बरु असहयोग भएको बास्कोटाको आरोप छ । कल्पना नै नगरेको विश्वविद्यालय ल्याउने बेला  नगरपालिकाबाट मेयरले सिफारिस समेत नदिएको र वडा अध्यक्षहरुको सिफारिसबाट प्रक्रिया अघि बढाइएको बास्कोटाले जानकारी दिए । ‘अहिले विश्वविद्यालय मैले लेराएँ भनेर भ्रममा पार्न खोज्नुको कुनै अर्थ छैन’ ‘मेयरले सिफारिससमेत नदिएर वडा अध्यक्षबाट सिफारिस बनाउनुपर्यो, हामी विज्ञ लिएर भिजिटमा आउँदा आफू आउनुपर्ला भनेर लुसुक्क उपमेयरलाई ब्यारेकमा पठाएको हो कि होइन ? खरेलमाथि बास्कोटाको प्रश्न छ । 

नारा एकातिर धन्दा अर्कोतिर :

पाँचखाल नगरपालिकाका निवर्तमान नगर प्रमुख खरेलले कृषि शहर पाँचखाल नगरको नारा एकातिर राखेर अर्कोतिर धन्दा चलाएको आरोप पनि बास्कोटाले लगाए । पछिल्लो पाँच बर्षको अवधीमा नगरपालिकाबाट किसानका लागि केही हुनै नसकेको भन्दै बास्कोटाले कृषि शहरलाई खण्डहर बनाइएको बताए । एमालेको पहलमा स्थायी व्यवस्था नहुन्जेलसम्मका लागि १२ ठाउँमा डिप बोरिङको व्यवस्था गरिएको र अब एमालेले नगरपालिकामा विजयी भएपछि कृषिबाट समृद्धितर्फ थप काम हुने उनले बताए । ‘कृषि सहकारीलाई सहुलियत दिने, पाँचखालको अर्थतन्त्र बढाएर रोजगारी दिने लगायतका काम एमालेको सरकारबाट हुनेछ’ बास्कोटाले भने । 

खरेलको कार्यशैलीका कारण पाँचखालका कांग्रेस कार्यकर्तासमेत रोएको बास्कोटाले बताए । उनले भने, ‘कांग्रेसले उपमेयरको उम्मेदवारमेत उठाउन सकेन, महिलाले किन भोट हाल्ने कांग्रेसलाई ? कांग्रेसका साथीहरुलाई मुख देखाउनसमेत मुस्किल परेको छ, अब हामी उहाँहरुलाई पनि समेटेर साथै लिएर अघि बढ्नेछौं ।’ परमादेशी सरकारले झिकुखेला करिडोरको बजेट काट्दासमेत निवर्तमान नगरप्रमुखले केही गर्न नसकेको बास्कोटाले बताए । 


एमालेले नै पाँचखालको रुप बदल्नेछ : अधिकारी

कार्यक्रममा नेकपा एमालेको तर्फबाट पाँचखाल नगरपालिकाका मेयर पदका उम्मेदवार कञ्चन अधिकारीले नेकपा एमालेले नै पाँचखालको रुप बदल्ने बताए । गोकुल बास्कोटाकै पहलमा पाँचखालको रुप बदल्ने अभियान सुरु भएको भन्दै अधिकारीले नगरपालिकाले केही काम गर्न नै नसकेको बताए । एमालेको नेतृत्वमा प्रदेश र केन्द्रको सरकार हुँदा पाँचखालमा पर्याप्त बजेट आएको र त्यसलाई नै देखाएर निवर्तमान नगरप्रमुख खरेलले झुटको खेती गरिरहेको अधिकारीले बताए ।

पाँचखालको सडक, पूर्वाधार लगायतका क्षेत्रमा एमालेकै नेतृत्वको सरकार हुँदा सबैभन्दा बढी बजेट आएको अधिकारीले जानकारी दिए । पाँचखाल नगरका जनतालाई झुक्याउने काम भइरहेको र अब जनताले त्यसमा विश्वास नगर्ने उनले बताए । पाँचखाल नगरपालिकामा अहिलेसम्म शिक्षा समितिसमेत बनाउन नसक्नेले शिक्षाको विकास गर्छु भनेर भन्नु भ्रमको खेतीमात्रै भएको अधिकारीले बताए । जनजाति, किसान, युवा, महिलाका लागि पाँच बर्षको अवधीमा केही गर्न नसक्ने खरेललाई जनतासामू मत माग्ने नैतिकतासमेत नभएको अधिकारीले बताए । 

एमालेले पाँचखाल नगरपालिकामा विजयी भएसँगै कृषि क्षेत्रको विकासबाट समृद्धिको यात्रामा थप पाइला अघि बढ्ने अधिकारीले बताए । पाँचखालमा युवालाई स्वरोजगार बनाउने, पाँचखालमा किसान कोल्डस्टोर बनाउने लगायतका योजना एमालेले ल्याएको र त्यो कार्यान्वयन गर्ने प्रतिवद्धता पनि उनले जनाए ।


प्रतिक्रिया



थप समाचारहरु