पाँचखालमा सपथकै दिन उपप्रमुखमाथि ‘विभेद !’


मेचीकाली

पाँचखाल–पाँचखाल नगरपालिकाकी नवनिर्वाचित उपप्रमुख सूर्यमाया दनुवारले सपथ ग्रहण गरेकै दिन विभेदको सामना गर्नुपरेको छ । 

आज बिहान नगरपालिकामा सपथ लिएपछि दनुवारले आजै पदभार सम्हाल्ने कार्यक्रम रहेको थियो । तर, रातारात यसअघि उपप्रमुख रहेको कार्यकक्ष बन्द गरेर अर्को कोठामा कार्यकक्ष बनाइएपछि दनुवारले आज पदभार सम्हाल्न पाइनन् । आफूलाई यसअघि उपप्रमुखले प्रयोग गर्दै आएको कोठामा नभई अर्को कोठाको व्यवस्था गरिएपछि दनुवारले आपत्ति जनाएकी थिइन् । 

हिजोका दिनसम्म त्यही कार्यकक्षबाट सेवा दिँदा समस्या नहुने तर, आफू निर्वाचित भएर आएपछि आज अचानक किन कार्यकक्ष सारियो भन्दै उनले आपत्ति जनाएकी छन् । यसअघि दोस्रो तल्लामा उपप्रमुखको कार्यकक्ष रहेको थियो । हाल आएर तेस्रो तल्लामा रातारात कार्यकक्ष तयार पारिएको छ । अचानक कार्यकक्ष सारिएपछि उपप्रमुख दनुवारले प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईंसँग आपत्ति जनाएकी थिइन् । त्यसपछि हुमेगाईंले आफूले प्रयोग गर्दै आएको कोठा छाडिदिने बताएका थिए । तर, फेरि दनुवारलाई अहिले बनाइएकै नयाँ कार्यकक्षमा राख्न खोजिएको बताइएको छ । सोही कारण दनुवार आज पदभार नसम्हालीकन फर्केकी छन् ।

आजै नेकपा एमाले पाँचखाल नगर कमिटीले विज्ञप्ति जारी गर्दै अघिल्लो कार्यकालमा उपप्रमुखले प्रयोग गरेको कार्यकक्षमा सहजै जनसम्पर्क हुने र सेवाग्राहीलाई सहजता हुने भए पनि अहिले सहजै जनसम्पर्क नहुने ठाउँमा कार्यकक्ष खडा गरी उपप्रमुखलाई बस्न नदिने नियोजित योजना बनाएको भन्दै खेद प्रकट गरेको छ । 




प्रतिक्रिया



थप समाचारहरु