पाँचखालमा एमालेप्रति आकर्षण बढ्दै, वडा नं ६ का सयौं व्यक्ति एमाले प्रवेश


मेचीकाली

पाँचखाल- स्थानीय चुनावको मिति नजिकिँदै गर्दा अन्य दलका कार्यकर्ता र आम नागरिकको आकर्षण नेकपा एमालेप्रति बढिरहेको छ ।

सोही क्रममा काभ्रेको पाँचखाल नगरपालिका वडा नं ६ पिपलटारका सयौं व्यक्ति आज नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य सिमराज दनुवारसहितका युवाहरू नेकपा एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलका कार्यकर्ता पनि रहेका छन् । 

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं काभ्रे इन्चार्ज गोकुल बास्कोटाले उनीहरूलाई एमालेमा स्वागत गरेका थिए ।

 कार्यक्रममा पोलिटब्युरो सदस्य बास्कोटाले आफूले छुट्याएको बजेटमा अरुले फोटो खिच्दै सेलीब्रेटी बन्दै हिडेको आरोप लगाए । पाँचखालमा २७ वटा सडक, मदन भन्डारी विश्वविद्यालयका लागि आफूले बजेट ल्याए पनि जस अरुले लिन खोजेको भन्दै भ्रममा नपर्न बास्कोटाले आग्रह गरे ।  एमालेका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार कञ्चन अधिकारीले एमालेको नेतृत्वमा मात्रै विकास सम्भव हुने भन्दै गाउँ विकासको योजना लेराउने प्रतिवद्धता जनाए । पिपलटारबासीले एमालेप्रती देखाएको माया र विश्वासले अभियानलाई थप बल प्रदान गर्नुका साथै समृद्ध र समुन्नत पाँचखालका लागि एमालेको बिकल्प नरहेको पुष्टि गरेको अधिकारीले बताए । 

यस्तै एमाले प्रवेश गरेका  सिमराज दनुवारले एमालेले मात्रै गाउँको विकास गर्न सक्ने भएकाले एमालेमा लागेको र समृद्ध पाँचखाल निर्माणको अभियानमा अब निरन्तर लागिरहने बताए ।

नेकपा एमाले पाँचखालले स्थानीय चुनावका लागि अभियान सुरु गरिसकेको छ । नेकपा एमालेले कञ्चन अधिकारीलाई नगर प्रमुख, सुर्यमाया दनुवारलाई उपप्रमुख पदको उम्मेदवार बनाएको छ ।

एमालेले पाँचखाल  वडा नं ६ मा वरुण ढुंगानालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया



थप समाचारहरु