प्रमुख पदमा आठ, उपमा बत्तीस महिलाको उम्मेदवारी


मेचीकाली

काभ्रे– यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेपलाञ्चोक जिल्लामा रहेका १३ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउने महिलाको सङ्ख्या न्यून रहेको छ । प्रमुख पदमा महिला उठ्दा निर्वाचनमा फितलो उम्मेदवारको रुपमा हेर्ने पुरानो मानसिकताका कारण रहेक तहका निर्वाचनमा प्रमुख पदमा महिला उम्मेदवार उठाउने प्रचलन कम रहेको पाइन्छ । सोही पुरानो दृष्किोणका कारण यस पटकको स्थानीय तहको निर्वाचनमा काभ्रेमा नगरपालिका तथा गाउँपालिकाको प्रमुख पदमा महिला उम्मेदवारी दिने महिलाको सङ्ख्या न्यून रहेको छ । 

जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार यस पटकको स्थानीय तहको निर्वाचनमा जिल्लाका छ नगरपालिकामध्ये धुलिखेल नगरपालिकामा दुई, मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा दुई जना मात्रै महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरि जिल्लाको सात वटा गाउँपालिकामध्ये खानीखोला गाउँपालिकाको अध्यक्षका लागि दुई, महाभारत र चौरीदेउराली गाउँपालिकाको अध्यक्षको लागि एक÷एक जना महिलाले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् । नगर प्रमुख तथा गाउँपालिकामा अध्यक्षको लागि उम्मेदवारी दर्ता गराउने मध्ये एक जना मात्रै स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । 

यस वर्षको स्थानीय तहको निर्वाचनमा जिल्लामा गठबन्धनका तर्फबाट जिल्लाको चौरीदेउराली गाउँपालिका प्रमु्ख पदमा संविधान सभा सदस्य रेणुका चौलागाँई, खानीखोला गाउँपालिकामा नेकपा माओवादी समाजवादीबाट जेनिशा लामा, खानीखोला गाउँपालिकामा नै स्वतन्त्रबाट मिना पाख्रिनले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरि धुलिखेल नगरपालिकामा नेपाल मजदुर किसान पार्टीबाट प्रमु्ख पदमा पुण्यशोभा श्रेष्ठ, उन्नत लोकतन्त्र पार्टीबाट तारा केसी, मण्डनदेउपुर नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिरा बजगाँई, नेपाल मजदुर किसान पार्टीबाट मुना तामाङ र महाभारत गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एकिकृत समाजवादीबाट हस्तिमाया राना मगरल उम्मेदवारी दर्ता गराउनु भएको हो । 

निर्वाचन कार्यालय काभ्रेका अनुसार जिल्लाको १३ वटा स्थानीय तहमध्ये छ वटा नगरपालिकाको उपप्रमुखका लागि १६ जना र सात वटा सात गाउँपालिकाका लागि १६ जना महिला उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ । जिल्लाको धुलिखेल नगरपालिकाको उपप्रमुखको लागि चार, नमोबुद्ध नगरपालिका दुई, बनेपा नगरपालिकाको लागि चार, पाँचखाल नगरपालिकाको लागि तीन, मण्डनदेउपुर नगरपालिकाको लागि एक र पनौती नगरपालिकाको लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । यसैगरि जिल्लाको बेथानचोक गाउँपालिकाको उपाध्यक्षका लागि छ जना, भुम्लुको लागि तीन जना, रोशीको लागि दुई, चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाको लागि एक÷एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु