काभ्रे प्रहरीको नागरिक सचेतना कार्यक्रम


मेचीकाली

धुलिखेल- जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आज धुलिखेल नगरपालिकाका जनप्रतिनिधी तथा नागरिकसँग कार्यालयबाट प्रवाह गरेको सेवाको सम्बन्धमा नागरिक सुनुवाई तथा अन्र्तक्रिया गरेको छ । कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले राजनीतिज्ञ तथा उच्च पदमा रहेका व्यक्तिमा कुनै मुद्धामा प्रहरीले पक्राउ गरेको व्यक्तिलाई मेरो मान्छे, कार्यकर्ता छुटाउनुपरो भनेर प्रहरीलाई दवाव दिएसम्म प्रहरीले राम्रोसँग काम गर्न नसक्ने बताउनुभयो । उहाँले प्रहरीलाई आफ्नो मान्छे, कार्यकर्ता छुटाउने लगायतका विषयमा अनावश्यक दवाव दिएसम्म प्रहरीले उच्च मनोबलमा काम गर्न नसक्ने भएकोले सबैले गलत काम गर्ने मान्छेलाई सजाँय दिन तयार हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमले नगरभित्र शान्ति, सुरक्षा कायम गर्ने विषयमा नगरपालिकाले प्रहरीसँग सहकार्य गरेर विभिन्न सचेतनाका कार्यक्रम समेत तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष बद्रिप्रसाद हुमागाँई रातीको समयमा विपी राजमार्गमा कि सबै यातायातका साधन रोक्नुपर्ने कि सबैलाई सहज आवातजावत गर्न दिनुपर्ने बताउनुभयो । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष सन्तमान तामाङले वडा नम्बर १ मा कक्षा ९ र १० गर्ने बालबालिकाहरु बालविवाहमा संलग्न रहेको बतउनुभयो । उहाँले बालविवाह रोक्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउँदै वडा नम्बर १ र २ हेर्ने गरी एउटा अस्थायी प्रहरी चौकी स्थापना गर्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा नम्बर १० अध्यक्ष् गोविन्दप्रसाद उपाध्यायले पनौती–बनेपा सडकमा दिउँसो र ओभार लोड बोक्न नपाउने भएपनि मालबहाक टिपरहरु नमोबुद्ध सडक हुँदै ईट्टेबाट शारदाबतासे निस्कँदा सडक भत्किन जानुको साथै स्थानीय कच्ची घरमा असर परेको बताउनुभयो । 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले चालु आर्थिक वर्षको हालसम्म भएका विभिन्न अपराधिक गतिविधिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले जिल्लामा आत्महत्याको क्रम बढेको बताउँदै त्यसका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्रममा जिज्ञासा राख्नुभएका वडा अध्यक्षको जवाफ दिँदै विपी राजमार्ग साँघुरो र दुर्घटनाको जोखिम बढी भएकोले रातको समयमा यात्रुबहाक सवारीलाइ रोक लगाइएको बताउनुभयो । उहाँले प्रहरीले समाजमा शान्ति, सुरक्षा कायम गर्नका लागि आफ्नो जनशक्ति र क्षमताले भ्याएसम्म राम्रो काम गर्ने बताउनुभयो ।


प्रतिक्रिया



थप समाचारहरु