दोहोरो नागरिकता लिने पक्राउ


मेचीकाली

धुलिखेल–  झुटा विवरण पेश गरी दोहोरो नागरिकता प्रमाणपत्र लिने दुई जना पक्राउ परेका छन् । जिल्ला प्रशासन कर्यालय काभ्रेमा झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएको आरोपमा जिल्लाको भुम्लु गाउँपालिका–३ की ३९ वर्षीया सुनिता गिरी र ३६ वर्षीय राजु गिरी रहेका छन् । रामेछाप जिल्ला चुचुरे–२ घरभई हाल काभ्रेको भुम्लु गाउँपालिका–३ बस्ने रमेशराज गिरीकी श्रीमती सुनिताले श्रीमानको ठेगाना चौरीदेउराली गाउँपालिका–५ उल्लेख गरी पहिलो पटक २०६९ साउन ८ गते नागरिकता प्रमाणपत्र लिनुभएको थियो ।

उहाँले दोस्रो पटक आफ्नो ठेगाना भुम्लु गाउँपालिका–३ जनाई आफ्नो नाम देवी खड्का खत्री उल्लेख गरी राजु खत्री (दोस्रो श्रीमान्)को सनाखतमा २०७५ मङ्सिर २६ गते दोस्रो नागरिकता लिनु भएको थियो । पहिलो नागरिकता बदर गर्नका लागि शुक्रबार कार्यालयमा आउनु भएकी सुनिता र राजुलाई दोहोरो नागरिकता लिएको भन्दै पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । 

सुनिताले दोहोरो नागरिकता लिएको र राजुले यसअघि नागरिकता नलिएको भन्दै सनाखत गरेको दुवैलाई पक्राउ गरिएको हो । पक्राउ परेकी सुनिताको दोस्रो नागरिकता रद्द गरिएको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकाी अमरदिप सुनुवारले जानकारी दिनुभयो । उहाँले दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ पर्नुभएकी सुनिताको पहिलो  नागरिकताको समेत छानविन हुने बताउनुभयो । पक्राउ परेका दुवैलाई नेपाली नागरिकता ऐन २०६३ बमोजिम झुट्टा विवरण पेश गरी दोहोरो नागरिकता लिएको कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु

 

एकतर्फी खुल्यो अरनिको राजमार्ग