काभ्रेका स्वास्थ्य संस्थाको विजोग : अधिकांशमा भवनमात्र होइन पानीसमेत छैन


मेचीकाली

काभ्रे– सरकारी स्वामित्वमा रहेका काभ्रे जिल्लाका अधिकांश स्वास्थ्य संस्थाको अवस्था विजोग रहेको पाइएको छ । ती स्वास्थ्य संस्था न्यूनतम पूर्वाधार  र सुविधाबिनै सञ्चालनमा रहेका छन् ।

ती स्वास्थ्य संस्थाहरु भवनको अभाव त झेलिरहेका छन् नै गुणस्तरीय खानेपानीको सुविधा, इन्टरनेट, बर्थिङ सेन्टर र आफ्नै एम्बुलेन्ससमेतको अभाव झेलिरहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लाका सरकारी स्वामित्वका स्वास्थ्य संस्थाहरुको अद्यावधिक विवरण माग गरेको थियो । मन्त्रालयमा पुगेको विवरणअनुसार धेरैजसो स्वास्थ्य संस्था जेनतेन सञ्चालन भइरहेका छन्  ।

जिल्लाको तेमाल गाउँपालिकाभित्र रहेका १३ वटा स्वास्थ्य संस्थाहरुमध्ये दुई वटा स्वास्थ्य संस्थामा पर्याप्त पानीको सुविधा नरहेको, ११ वटा स्वास्थ्य संस्थामा इन्टरनेटको पहूँच नपुगको र नौ वटा संस्थामा बर्थिङ सेन्टरको सुविधा नरहेको पाइएको छ । पाँचखाल नगरपालिका अन्र्तगत १२ वटा स्वास्थ्य संस्थाहरु रहेकोमा चार वटा संस्थाको आफ्नै भवन नरहेको, एउटा शहरी स्वास्थ्य केन्द्रमा पर्याप्त पानीको सुविधा नभएको र नौ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा नरहेको तथ्याङ्कले देखाएको छ । 

यस्तै १७ वटा स्वास्थ्य संस्था रहेको बनेपा नगरपालिकामा एउटा आधारभूत स्वास्थ्य केन्द्रको भवन र १७ वटै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुविधा रहेको छैन । जिल्लाको मण्डनदेउपुर नगरपालिकाभित्र १५ वटा स्वास्थ्य संस्थाहरु सञ्चालनमा रहेकोमा सबै स्वास्थ्य संस्थाको भवन रहेपनि पर्याप्त भने नभएको, नगर अस्पताल र एक स्वास्थ्य संस्थामा बर्थिङ सुविधा रहेपनि १३ वटा स्वास्थ्य संस्थामा बर्थिङ सुविधा नभएको आवद्यिक विवरणमा उल्लेख रहेको स्वास्थय कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

यसैगरी १७ वटा स्वास्थ्य संस्था रहेको धुलिखेल नगरपालिकाभित्र सात वटा संस्थामा मात्रै पर्याप्त भवन रहेको, तीन वटा संस्थामा मात्रै बर्थिङ सुविधा, चार वटा संस्थामा पर्याप्त पानीको सुविधा नरहेको, रोशी गाउँपालिकामा १५ वटा स्वास्थ्य संस्थामध्ये आठ वटा संस्थामा पर्याप्त भवन नरहेको, ११ वटा संस्थामा बर्थिङ सेन्टर नरहेको, दुई संस्थामा पानीको पर्याप्त सुविधा नरहेको र १३ वटा स्वास्थ्य संस्थामा इन्टरनेट रहेको छैन । 

आठ वटा स्वास्थ्य संस्था रहेको बेथानचोक गाउँपालिकामा पाँच वटा स्वास्थ्य संस्थामा बर्थिङ सुविधा र तीन वटा संस्थामा इन्टरनेटको सुविधा रहेको छैन । १२ वटा स्वास्थ्य संस्था रहेको पनौती नगरपालिकामा अहिले पनि सात वटा स्वास्थ्य संस्थाको पर्याप्त भवन नरहेको, नौ वटा स्वास्थ्य संस्थामा बर्थिङ सुविधा नरहेको, १२ वटा स्वास्थ्य संस्था रहेको जिल्लाको महाभारत गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा इन्टरनेटको पहूँच नपुगेको, चार वटा संस्थामा पर्याप्त भवन नभएको, सात वटामा बर्थिङ सेन्टर नरहेको, तीन वटामा पर्याप्त पानीको सुविधा नभएको पाइएको हो । 

त्यसैगरि जिल्लाको भौगोलिक रुपमा विकट रहेको खानीखोला गाउँपालिकामा रहेको आठ वटा स्वास्थ्य संस्थामध्ये हालसम्म सात वटामा बिजुलीको सुविधा पुग्न सकेको छैन, चार वटा संस्थाको भवन नभएको, छ वटामा बर्थिङ सुविधा नरहेको, तीन वटा संस्थामा पर्याप्त पानीको सुविधा नभएको र छ वटा स्वास्थ्य संस्थामा इन्टरनेटको सुविधा पुग्न नसकेको तथ्याङ्कले देखाएको छ । १३ वटा स्वास्थ्य संस्था रहेको जिल्लाको नमोबुद्ध नगरपालिकामा ११ वटा स्वास्थ्य संस्थाका लागि भवन अपर्याप्त रहेको र १२ वटामा बर्थिङ सेनटर भएको मन्त्रालयले माग गरेको आवद्यिक विवरणमा उल्लेख छ । त्यस्तैगरि जिल्लाको भुम्लु गाउँपालिकामा रहेका १५ वटा स्वास्थ्य संस्थामध्ये छ वटा संस्थामा पर्याप्त भवन नरहेको, नौ वटामा बर्थिङ सुविधा, एउटामा पर्याप्त पानीको सुविधा नभएको र एउटा स्वास्थ्य संस्थामा सडकको पहूँच नपुगेको पाइएको छ ।

१२ वटा स्वास्थ्य संस्था रहेको चौरीदेउराली गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्थाको भवन नभएको, आठ वटामा बर्थिङ सेन्टर नभएको, एउटामा बिजुलीको सुविधा नभएको र एउटा स्वास्थ्य संस्थामा सडक नपुगेको आवद्यिक विवरणमा उल्लेख गरिएको छ । आवद्यिक विवरण अनुसार जिल्लाका अधिकाँश स्वास्थ्य संस्थाको गुरुयोजना नरहेको, अधिकाँश स्वास्थ्य संस्थाको आफ्नै एम्बुलेन्स नभएको, पर्याप्त भवन, पर्याप्त पानीको सुविधा, इन्टरनेटको पहूँच नरहेको देखाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु