धुलिखेल अस्पतालमा ‘च्यापुको जोर्नी प्रत्यारोपण’पछि यादव र गुरुङको परिवारमा छाएको खुसी


मेचीकाली

धुलिखेल-महोत्तरीको औरही नगरपालिका–२ का ४६ वर्षीय उपेन्द्र यादवको मुहारमा खुसी छाएको छ । १२ वर्षको उमेरमा काठको घरबाट खसेर मुख बन्द भएर जीवनमा थुप्रै असुविधा झेल्दै आउनु भएका यादवको गत मङ्गलबार धुलिखेल अस्पतालमा च्यापुको जोर्नीको सफल प्रत्यारोपण भएपछि उहाँको मुहारमा खुसी र हाँसो छाएको हो ।

“१२ वर्ष हुँदा काठको घरबाट लडेपछि मुख जाम भयो, २०५८ सालमा बिर अस्पतालमा आएर अप्रेशन गरेपछि मुखमा एउटा औँला छिर्ने भएको थियो, पछि विस्तारै विस्तारै पुरै मुख बन्द भयो, मुख बन्द हुँदा कष्टपूर्ण तरिकाले औँलाले कोचेर खाना खाने गर्दथे” यादवले भन्नुभयो । “मुख बन्द भएर खाना खान समस्या भएपछि खाना खान कै लागि अगाडीको माथिल्लो पट्टीका दुई वटा दाँत फुकाले, दाँत फुकालेको खाली ठाउँबाट खानालाई मसिनो बनाएर कोचेर खानुपथ्र्यो, अहिले मुख बन्द भएको अप्रेशन गरेको छु, छिट्टै मेरो समस्या समाधान हुनेमा ढुक्क छु” यादवले थप्नुभयो । मुख बन्द भएका कारण यादवले साढे तीन दशक समय कष्टपूर्ण रुपमा विताउन बाध्य हुनु भएको थियो । 

यसैगरी गोरखा घरभई हाल चितवन बस्दै आउनु भएकी २८ वर्षीया पुजा गुरुङमा पनि पछिल्लो एक सातादेखि मुहारमा छुट्टै चमक देखिएको छ । करिब १३ वर्षको उमेरमा गोठालो जाँदा तिदु फल खानको लागि रुखमा चढ्दा लडेर उहाँको मुख बन्द भएको थियो । मुख बन्द भएकी पुजाको तत्कालिन अवस्थामा विर अस्पतालमा उपचार गराएपनि पूर्ण रुपमा मुख नखुलेपछि दैनिक खाना खान र ब्रस गर्नका लागि धेरै कष्ट व्यहोर्नु परेको थियो । “मुख नखुल्दा खाना खान अत्यन्तै कष्ट झेल्नुपरो, कहिँकतै भोजहरुमा जाँदा समेत खाना खान धेरै ढिला हुँदा साह्रै अप्ठयारो महसुस हुन्थ्यो, खाना खाँदा एक औँलाले भित्रसम्म ठेलेर खानुपर्ने बाध्यता थियो” पुजाले भन्नुभयो । उहाँले डा. मनोज शाहसँग परामर्श गर्दा उहाँले धुलिखेल अस्पतालमा च्यापुको जोर्नी प्रत्यारोपण हुने कुरा सुनेपछि उपचारका लागि धुलिखेल अस्पतालमा आएको बताउनुभयो । “गत मङ्गलबार अप्रेशन भएको छ, अहिले सहज महसुस गरेकी छु, मुख पूर्ण रुपमा खुल्नका लागि केही महिना लाग्छ भन्नुभएको छ, त्यसपछि मैले ढुक्कसँग खाना चपाएर खान सक्छु भने मुख समेत खुल्नेमा ढुक्क छु” पुजाले भन्नुभयो । 

आर्थिक अभाव तथा च्यापुको जोर्नीको उपचार गराउने जानकारी नपाएर बस्नु भएका यादव र गुरुङलाई अष्ट्रेलियाको स्माईल हाई अर्गनाइजेशनकाट्रेभर र लाइका स्मिथको प्रायोजनमा निःशुल्क ‘च्यापुको जोर्नी प्रत्यारोपण’ गरिएको धुलिखेल अस्पतालको मुख तथा अनुहार सल्यक्रिया विभागका प्रमुख प्राडा. चन्दन उपाध्यायले बताउनुभयो । उहाँले स्माई हाई अर्गनाइजेशनले प्रायोजन गरेको चार वटा च्यापुको चार वटा जोर्नी लिएर आउनु भएका रोयल चिल्ड्रेन अस्पताल अष्ट्रेलियाका प्राडा. एन्ड्रभू हेगी, प्राडा. ज्योसलिन र डा. रिकी कुमारको प्राविधिक सहयोगमा उपेन्द्र र पुजाको च्यापुको दुई÷दुई वटा जोर्नी प्रत्यारोपण गरिएको बताउनुभयो । डा. उपाध्यायले स्माईल हाइबाट करिब एक लाख अष्ट्रेलियन डलर बराबरको चार वटा च्यापुको जोर्नी सहयोग भएको बताउनुभयो । उहाँले दुवैको टाउको र चिउँडोको हड्डी जोडिने भाग (टेम्पोरोम्यान्डिबुलर ज्वाइन्ट–टिएमजे) मा दुवैतिर डह्डी बढेर मुख नखुलेको बताउनुभयो । उहाँले समयमा नै उपचार नगराउँदा मुखको दुवैतिरको हड्डी जोडिँदै जादाँ मुख बन्द हुने बताउनुभयो । उहाँले यस्ता समस्या भएका व्यक्तिको अनुहार नबढ्ने भएकोले अनुहार चिउँडो समेत सानो हुने बताउनुभयो । 

डा. उपाध्यायले कोडिभपछि अस्पतालले पहिलो पटक काठमाडौँकी २६ वर्षीया एक युवतीको उपचार गरेको बताउनुभयो । उहाँले हालसम्म अस्पतालमा दश जना भन्दा बढी बिरामीको मुख बन्द भएको उपचार गरिएको बताउनुभयो । उहाँले च्यापुको जोर्नी प्रत्यारोपण गर्नका लागि भारतमा बनेको जोर्नी ल्याएर उपचार गर्दा करिब २५ लाख रुपियाँ खर्च हुने बताउनुभयो । उहाँले अन्य निजी अस्पतालमा भन्दा धुलिखेल सामुदायिक अस्पतालमा बिमालगायतको सुविधा  तथा विभिन्न सहयोगीको सहयोगमा कम खर्चमा उपचार हुने गरेको बताउनुभयो । उहाँलाई नेपालमा च्यापुको जोर्नीको प्रत्यारोपण सम्भव छ भन्ने जनचेतना नभएका कारण अझैपनि थुप्रै बिरामीहरु मुख बन्द हुँदा समेत उपचारबाट बञ्चित हुनुपरेको बताउनुभयो । उहाँले अस्पतालले आर्थिक अवस्था कमजोर भएका यस्ता समस्या भएका बिरामीको उपचारका लागि सहयोगी खोजेर उपचार गर्दै आएको बताउनुभयो । 



प्रतिक्रिया



थप समाचारहरु

 

केयुबाट ११२९ जना दीक्षित हुँदै