दोलालघाट र भकुण्डे क्षेत्रका पसल तथा होटलको अनुगमन


मेचीकाली

काभ्रेपलाञ्चोक– जिल्लाको भुम्लु गाउँपालिका अन्तर्गत पर्ने दोलालाट तथा नमोबद्ध नगरपालिका अन्र्तगत पर्ने भकुण्डे बजार क्षेत्रमा सञ्चालन भएका होटल तथा पसल व्यवसायको अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन, आन्तरिक राजस्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, कृषि ज्ञान केन्द्र, उद्योग बाणिज्य सङ्घलगायतका संघसंस्थाले संयुक्त रुपमा दोलालघाटमा सञ्चालित पसल तथा व्यवसायको अनुगमन गरेको हो । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेपलाञ्चोकका उद्योग अधिकृत यादवनाथ आचार्यले कार्यालयको नियमित कार्यक्रम अन्र्तगत दोलालघाट र भकुण्डे क्षेत्रमा सञ्चालित होटल, पसल तथा व्यवसायको अनुगमन गरिएको जानकारी दिनुभयो ।
उहाँले संयुक्त बजार अनुगमन टोलीले दोलालघाट क्षेत्रमा सञ्चालित १५ वटा होटल व्यवसाय, १५ वटा किराना पसल एउटा मासु पसलको अनुगमन गरेको बताउनुभयो । उहाँले अनुगमनका क्रममा दोलालघाट क्षेत्रमा सञ्चालित होटलहरुको भान्सा कोठा सफा नभएको, होटल तथा पसलमा मूल्य सूची नराखिएको, करपाटी नराखिएको, खाद्यवस्तु सुरक्षित नराखिएको, दर्ता विना केही पसल, व्यवसाय सञ्चालन भएको, व्यवसायको नविकरणको समय नाघेको पाइएको बताउनुभयो । यस्तै अन्ुगमनका क्रममा पसलहरुमा लेवल नभएका सामान बिक्री वितरण गरेको, म्याद सकिएका सामान बिक्री भएको, पसल तथा होटलमा सम्बन्धित व्यवसायको बिल प्रयोग नगरेको पाइएको छ । यसैगरी जिल्लास्थित संयुक्त बजार अनुगमन टोलीले नमोबुद्ध नगरपालिका अन्र्तगत भकुण्डे क्षेत्रमा सञ्चालित ३५ वटा पसल तथा व्यवसायको अनुगमन गरेको हो । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार बजार अनुगमनका क्रममा भकुण्डे क्षेत्रमा रहेका १६ खाद्यान्न, १७ होटल, एक डेरी र एक एग्रो भेटको अनुगमन गरिएको हो ।
भुकण्डे क्षेत्रमा गरिएको बजार अनुगमनमा विगतको तुलनामा खाद्यान्न पसलहरु व्यवस्थित रुपमा सञ्चालनमा रहेको पाइएको छ । नगरपालिका तथा उद्योग बाणिज्य संघले बेलाबेलामा गर्ने अनुगमनका कारण भकुण्डे क्षेत्रका खाद्यान्न पसलहरु राम्रोसँग सञ्चालन भएपनि होटलहरु भने सुधार हुन नसकेको अनुगमन टोलीले जनाएको छ । विपी राजमार्गको आसपासमा सञ्चालन भएका होटलहरुमा भने भान्छा कोठा, स्टोर कक्ष फोहोर रहेको अनुगमन टोलीले जनाएको छ । उद्योग अधिकृत आचार्यले अनुगमनका क्रममा दोलालघाट तथा भकुण्डे क्षेत्रमा कमी कमजोरी देखिएका पसल तथा व्यवसाय सञ्चालकहरुलाई एक पटकलाई त्रुटि सच्याउन सचेत गरिएको बताउनुभयो । उहाँले कार्यालयले नियमित कार्यक्रम अन्र्तगत बजार अनुगमनको कामलाई निरन्तर रुपमा अघि बढाएको बताउनुभयो ।


प्रतिक्रिया



थप समाचारहरु