सयौं थुंगा फूलका हामी, २,९१,९२,४८० नेपाली !


मेचीकाली

काठमाडौं–नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार मुलुकमा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक शुन्य दशमलव ९३ प्रतिशत वृद्धिदर छ ।

अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो । यस्तै मुलुकको जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना–२०७८ मा समेटिएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्या समेत समेटिएको छ ।

यद्यपि सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने भएको छ । गणक आफैं सो भेगमा पुग्न नसके पनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको उनले जानकारी दिए । वडास्तरमा भएको गणनाबाट यस भेगको जनसंख्या गणना भएको उनको भनाइ छ । तथ्यांक विभागले आज जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो । यसको विस्तृत विवरण आउन भने नौ महिनाजति लाग्ने बताइएको छ । नेपालमा प्रत्येक १० बर्षको अन्तरमा जनगणना हुँदै आएको छ । यसपटक १२ औं पटक जनगणना भएको हो ।


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व