कामीडाँडामा विदेशीले बनाइदिए पक्की विद्यालय भवन, समुदायलाई हस्तान्तरण


मेचीकाली

बेथानचोक-बेथानचोक गाउँपालिका वडा नं. ५ स्थित काँमिडाँडामा निर्मित कपेर महांकाल आधारभूत विद्यालयको पक्कि भवन समुदायलाई हस्तान्तरण गरिएको छ । 

लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था ए.इ.आईं.एन.को सहयोगमा १ करोड १५ लाखको लागत र ग्रामिण विकास संस्था (एसोसियसन फर रुरल डिभालपमेण्ट, ए.आर.डी) को समन्वयमा निर्मित भवन एक कार्यक्रम बीच बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले उद्घाटन गर्नुभयो । सो भवन सम्पन्न गर्ने क्रममा रंगरोगन  र फर्निचर लगायतका संरचनामा बेथानचोक गाउँपालिकाले ५ लाख रकम दिएको थियो ।

भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सेवा र सदभावका लागि ए.इ.आईं.एन. र एआरडीलाई धन्यवाद दिदैं यस प्रकारको साथ, सदभाव र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिका विकास निर्माणका लागि दातृ संघ संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै उहाँले विद्यालय निर्माण जस्तो उन्नत र प्रशंनीय कर्मले व्यक्ति, समाज र सिंगो पालिका नै लाभान्वित हुने बताउनुभयो । सामाजिक सञ्जालमा नकारात्मक कुरा लेखेर अरुको लागि उर्जाशील समय व्यतित गर्नुभन्दा राम्रा काम गर्दै समाज रुपान्तरणमा टेवा पु¥याउन युवाहरुलाई आग्रह गर्नुभयो । शिक्षकहरुलाई लक्षित गर्दै अध्यक्ष अधिकारीले भन्नुभयो, “पेशा व्यवसायलाई आधुनिकिकरण गर्दै शिक्षा प्रदान गर्ने कार्यमा कुनै कञ्जुस्याई नगर्नुहोला ।” शिक्षक, अभिभावक र व्यवस्थापन समितिले गम्भीर भएर लाग्ने हो भने सामुदायिक विद्यालय कुनै दृष्टिकोणबाट कमी नभएको बताउनु भयो । 

यस्तै वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबाले विद्यालय भवन जीर्ण हुँदा शिक्षण सिकाइमा असर परेको बताउँदै नयाँ भवन बनेसँगै उपलब्धी हासिल हुनेमा विश्वास व्यक्त गर्नुभयो । हाल विद्यार्थीहरुमा विद्यालय छोड्ने समस्या धेरै भएकाले नयाँ भवन बनेसँगै अभिभावकले विश्वास गर्ने शैक्षिक वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।

लग्जम्वर्गको बालबालिका र महिलाको क्षेत्रमा काम गर्ने संस्था ए.इ.आईं.एन.की कार्यकारी निर्देशक फ्राङकोइसे बिन्सफेल्डले भुकम्पपछि नेपालका विद्यालयका भवनमा क्षति पुगेको स्मरण गर्दै आफूहरुले यस भेगमा आएर विद्यालय बनाउन सकेकोमा खुशी व्यक्त गर्नुभयो । भावी दिनमा विद्यालयको संरक्षण र शैक्षिक स्तरउन्नतिमा समुदायले विशेष भूमिका खेल्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारको मापदण्ड अनुसार बनेको सो भवन कूल २ तलाको रहेको छ । भवनमा ६ वटा कोठा रहेको र तल्लो तला अपाङ्गमैत्री संरचनामा निर्माण भएको एआरडीका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले जानकारी दिनु भयो । निर्देशक तिमल्सिनाले समयमै विद्यालय भवन निर्माण सम्पन्न गर्न सहयोग पु¥याउनु हुने सबैलाई धन्यवाद दिँदै भावि दिनमा ए.इ.आईं.एन.सँग मिलेर थप कार्यक्रम गर्दै लाने बताउनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिमबहादुर लामाले भवन निर्माण भएसँगै त्यस भेगको शिक्षा क्षेत्रमा परिवर्तन आउने विश्वास राख्नु भयो ।


प्रतिक्रिया



थप समाचारहरु