अमेरिकी राजदुत थम्पसन केयुमा : पदाधिकारी र बिद्यार्थीसँग छलफल


मेचीकाली

काभ्रे-नेपालका लागि अमेरिकी राजदुत डिन. आर थम्पसनले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)को भ्रमण गर्नुभएको छ । बुधबार दिउँसो विश्वविद्यालयको भ्रमणमा आउनु भएका थम्पसनले विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारी तथा बिद्यार्थीसँग विविध विषयमा अन्र्तक्रिया गर्नुभएको हो ।  

भ्रमणका क्रममा राजदुत थम्पसनले केयुमा अमेरिकी सरकार र नेपाल सरकारको समन्वयमा शैक्षिक कार्यक्रमहरु सञ्चालन भएका कार्यक्रम महत्वपूर्ण रहेको र आगामी दिनमा यसको दायरालाई अझ फराकिलो बनाउन आफुहरु सकरात्मक रहेको बताउनु भएको थियो । भ्रमणका क्रममा राजदुत थम्पसनले काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थी तथा उत्पादित जनशक्तिलाई अमेरिकी सरकारले उपलब्ध गराउँदै आएको छात्रवृति लगायतका सहयोगहरुमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले अमेरिकी राजदुतको भ्रमणका क्रममा अमेरिकीले नेपालमा हाइड्रो (जलविद्युत), इनर्जी (उर्जा) र आईटि (सूचना प्रविधी) का ठुला उद्योगहरु खुल्ने क्रममा रहेकोले त्यस्ता उद्योगमा केयुका बिद्यार्थी र यहाँबाट उत्पादित अब्बल जनशक्तिलाई नेपालमा नै कसरी रोजगारी दिन सकिन्छ भन्ने विषयमा छलफल भएको बताउनुभयो । 

उहाँले अमेरिकी राजदुतको भ्रमणले विश्वविद्यालयका अध्ययनरत विद्यार्थी तथा उत्पादित जनशक्तिलाई अवसर प्रदान गर्न तथा अमेरिकी विश्वविद्यालयसँग सहकार्य गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । 

छलफलमा राजदुत थम्पसनले नेपालमा अमेरिकी सरकारको लगानीमा खुल्दै गरेका उद्योगहरुमा इन्जिनियरिङलगायतका हजारौँ जनशक्तिले रोजगारी प्राप्त गर्न सक्ने भएकोले त्यसका लागि बिद्यार्थीहरुमा विभिन्न सीपहरु आवश्यक पर्ने बताउनु भएको विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्यावका प्रमुख डा. बिराज सिंह थापाले बताउनुभयो । उहाँले राजदुत थम्पसनको भ्रमणका क्रममा उपकुलपतिसहितका विश्वविद्यालयका पदाधिकारी, अमेरिकामा अध्ययन गरेर विश्वविद्यालयका काम गर्नुहुने कर्मचारीवीच विश्वविद्यालय र अमेरिकी सरकारवीच आगामी दिनमा गर्न सकिने सहकार्य लगायतको विषयमा छलफल भएको बताउनुभयो । 

यसैगरी दुतावासको मानव संसाधन विभागका कर्मचारी र बिद्यार्थीबीचमा अमेरिकी कम्पनीहरुमा काम गर्नका लागि आवश्यक पर्ने दक्षता, सीपको विषयमा विद्यार्थीसँग अन्र्तक्रिया गरिएको डा. थापाले बताउनुभयो । 

राजदुतको भ्रमणका क्रममा विश्वविद्यालयका उपकुलपति प्राडा थापाले विश्वविद्यालयका आगामी योजनाका साथै विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमलाई अन्र्तराष्ट्रियकरण गर्ने सन्दर्भमा भारतको तिरुपतिमा सुरु गरेको योगिक साइन्स एण्ड वेलविइङ्गको विषयमा जानकारी दिनुभएको थियो । राजदुत थम्पसनले हरित उर्जा, नविकरणीय उर्जा, र अमेरका तथा नेपालमा आधारित आर्टिफिसियल इन्टेलिजेन्स परियोजनाको विषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्राडा अच्यूत वाग्लेले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै समृद्ध नेपालका लागि बलियो सम्बन्ध आवश्यक रहेको बताउनुभएको थियो । 


प्रतिक्रिया



थप समाचारहरु