सकिए चाडपर्व, काभ्रेमा विकासे योजनाका काम धमाधम सुरु


मेचीकाली

काभ्रे–मुख्य चाडपर्वहरु सकिएसँगै जिल्लामा विकासे कामले गति लिन थालेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि प्रदेश सरकार तथा सङ्घीय सरकारका विभिन्न मन्त्रालयबाट काभ्रे जिल्लामा सञ्चालन हुने विभिन्न योजनाको काम सुरु भएको छ । वर्षायाम तथा दशैँ, तिहारलगायतका महत्वपूर्ण चाडपर्व सकिएसँगै विकास योजनाका कामहरु अघि बढेका हुन् । 

जिल्लामा रहेर भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्ने शहरी विकास तथा भवन कार्यालय, सार्वजनिक निर्माण कार्यान्वयन इकाई, जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय तथा पूर्वाधार विकास कार्यालयलगायतका कार्यालयहरुले चालु आवका योजनाहरुको काम अघि बढाएका हुन् । शहरी विकास तथा भवन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख ई. सन्तोष कुमार निरौलाले कार्यालयले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न योजनाको काम सुरु भएको बताउनुभयो । उहाँले कार्यालय चालु आवमा जिल्लामा ५६ वटा योजनाको काम हुने बताउनुभयो । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन हुने कार्यक्रमहरुमध्ये हालसम्म छ वटा योजनाको बहुवर्षीय कार्यक्रम स्वीकृत भई गत वर्षदेखि नै काम सञ्चालन भईरहेको, २२ वटा योजनाको ठेक्का आह्वान भई योजना सम्झौता तथा मूल्याङ्कन गर्ने काम भईरहेको बताउनुभयो । यस्तै पाँच वटा योजनाको ठेक्का आह्वान गर्ने चरणमा पुगेको, चार वटा योजना उपभोक्ता समितिसँग सम्झौता भएर कार्यान्वयनको चरणमा गएको, दुई योजनाको नाम, ठेगाना फरक परेकोले सच्याउन पठाइएको, दुई वटा सडक योजनामा विवाद देखिएको बताउनुभयो । 

ई. निरौलाले कार्यालयले मङ्सिर मसान्तभित्र सबै योजनाको लगत स्टिमेट तथा फिल्ड सर्वेक्षण तथा योजना सम्झौताको काम सकेर योजना कार्यान्वयनमा जाने तयारीका साथ काम गरेको बताउनुभयो । यस्तै पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सिडिई राजु श्रेष्ठले चालु आ.व.मा जिल्लामा १७४ वटा योजनाको काम हुने बताउनुभयो । उहाँले जिल्लामा सञ्चालन गरिने योजनामध्ये हालसम्म ८० प्रतिशत योजनाको लागत स्टिमेट तयार भएको बताउँदै ठेक्का प्रक्रियामा गएका योजनाहरु सम्झौता गरी कार्यान्वयनमा पठाउने काम भईरहेको बताउनुभयो । उहाँले मङ्सिर महिनाभित्र योजनाको ठेक्का तथा उपभोक्ता समितिसँग योजना सम्झौता गरी कार्यान्वयनमा लैजाने गरी कार्यालयले काम गरेको बताउनुभयो । 

यसैगरी जिल्लामा रहेको सार्वजनिक निर्माण कार्यान्वयन इकाई काभ्रेपलाञ्चोकका ई. कुसुम भट्टराईले चालु आ.व.को चैत मसान्तभित्र काम सक्ने गरी कार्यालयले काम अघि बढाएको बताउनुभयो । उहाँले कार्यालयले यस वर्ष काभ्रेपलाञ्चोक जिल्लामा ४० वटा विभिन्न योजनामा काम गर्ने बताउँदै दु्ई वटा बिद्यालय आवासिय भवनको ठेक्का आह्वान भएको, दुई वटा बिद्यालय भवन तथा ३५ वटा दुई कोठा बिद्यालय भवनमध्ये २१ वटाको ठेक्का निकाल्ने तयारी भईरहेको बताउनुभयो । उहाँले चालु आ.व.मा जिल्लामा सञ्चालन हुने योजनाहरुको लागत स्टिमेट तयार गर्ने तथा योजना सम्झौताको काम भईरहेको बताउनुभयो । यस्तै जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय काभ्रेपलाञ्चोकले यस वर्ष जिल्लामा तीन सय भन्दा बढी योजनाको काम गर्ने जनाएको छ । डिभिजन प्रमुख ई. विनय पौडेलले यस वर्ष जिल्लामा ३८१ वटा सञ्चालन हुने बताउनुभयो । 

उहाँले जिल्लामा सञ्चालन हुने योजनामध्ये हालसम्म बहुवर्षीय तथा अन्य गरी करिब ५० वटा योजना कार्यान्वयनमा गएको, दुई सय योजनाको पहिचान गरी लगत स्टिमेट तयार गर्ने काम भईरहेको र केहि मर्मत सम्भार, सिञ्चाईका गरी करिब एक दर्जन योजनाको काम सम्पन्न समेत भएको बताउनुभयो । ई. पौडेलले जिल्लामा सञ्चालन हुने केही योजनाको पहिचान हुन नसकेको र उपभोक्ताहरु समेत सम्पर्कमा नआएको बताउनुभयो । 


प्रतिक्रिया



थप समाचारहरु