नमोबुद्ध–१० मा ‘न्यानो’ बाँड्दै समाजसेवी श्रेष्ठ


मेचीकाली

दाप्चा (नमोबुद्ध)– समाजसेवी रामकृष्ण श्रेष्ठले नमोबुद्ध नगरपालिका वडा नं. १० मा ब्लाङ्केट र टोपी वितरण गरेका छन् । 

नमोबुद्ध नगरपालिका वडा नं. १०, वडा समितिको संयोजनमा श्रेष्ठले आफ्नो जन्मथलो नमोबुद्ध १० पुराना गाउँमा ब्लाङ्केट र न्यानो टोपी वितरण गरेका हुन् । सोमबार आयोजित कार्यक्रमका बीच उक्त वडाका लक्षित वर्गका २ सय ३५ जनालाई ब्लाङ्केट र टोपी वितरण गरिएको छ । समाजसेवी श्रेष्ठ, वडा अध्यक्ष रामकृष्ण अधिकारी लगायतले ती सामग्री वितरण गरेका थिए । 

नमोबुद्ध १० पुराना गाउँमा जन्मिएका श्रेष्ठ हाल काठमाडौं बस्दै आएका छन् । आफू जन्मथलोबाट बाहिर रहे पनि यो ठाउँ र यहाँका नागरिकको सदैब नजिक रहेको बताउने श्रेष्ठले जाडोको समयमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सत्य साई केन्द्र काठमाडौंको समन्वयमा न्यानो वितरण गरेको जानकारी दिए । श्रेष्ठले यसअघि पनि उक्त वडा र त्यहाँका स्थानीयबासीका लागि सहयोग गर्दै आइरहेका छन् । उनले निःशुल्क रुपमा उपलव्ध गराएको १० आना १ पैसा १ दाम जग्गामा वडा नं. १० को कार्यालय निर्माण भइसकेको छ । आगामी दिनमा पनि वडा र वडाबासीका लागि आफूले सक्दो सहयोग गर्ने श्रेष्ठले बताए । 

वडा अध्यक्ष रामकृष्ण अधिकारीले श्रेष्ठको सहयोगले वडाबासीका लागि ठूलो राहत मिलेको बताए । जाडोको समयमा सहयोगी मनबाट न्यानो सहयोग पाउनु महत्वपूर्ण कुरा हो भन्दै अधिकारीले श्रेष्ठले उपलव्ध गराएको जग्गामा आधुनिक वडा कार्यालय भवन निर्माण गरिएको बताए । आफू विगतमा पनि वडाको विकासका लागि निरन्तर खटिएको र आगामी दिनमा पनि खटिरहने अधिकारीले बताए । वडा नं. १० ले अघिल्लो महिनामात्रै उक्त वडाका वृद्धवृद्धाका लागि सिरक वितरण गरेको थियो । विगतमा पनि जेष्ठ नागरिक, अपांग, दलित, महिला लगायत लक्षित वर्गका लागि वडाले अत्यावश्यक सामग्री वितरण गर्दै आइरहेको छ । कोभिड १९ संक्रमणको महामारीको समयमा वडाले सबै घरमा मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री वितरण गरेको थियो ।  



प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व