बनेपामा 'लायन्स कार्डियो क्लिनिक' सञ्चालन हुने


मेचीकाली

बनेपा- लायन्स क्लब अफ काभ्रेले काभ्रेको बनेपामा 'लायन्स कार्डियो क्लिनिक' सञ्चालनमा ल्याउने भएको छ ।

लायन्स क्लब अफ काभ्रे बनेपा र नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको सहकार्यमा क्लिनिक सञ्चालनमा आउन लागेको हो । आज बनेपामा पत्रकार सम्मेलन गर्दै लायन्स क्लब अफ काभ्रेले यो क्लिनिक सञ्चालन काभ्रेकै स्वास्थ्य क्षेत्रका लागि कोसेढुंगा सावित हुने बताएको छ । पत्रकार सम्मेलनमा लायन्स क्लब अफ काभ्रेका संस्थापक अध्यक्ष रामराजा धौभडेलले मुटुको समस्याको सामान्य जाँचका लागि काठमाडौं जानुपर्ने समस्या समाधान हुने वताए । क्लिनिकका लागि आवश्यक उपकरण यहि पुस ५ गते हस्तान्तरण हुँदैछ ।

लायन्स क्लब अन्तर्राष्ट्रियका अन्तर्राष्ट्रिय अध्यक्ष Lion Brion E. Sheehon बाट लायन्स क्लब इन्टरनेशनल LCIF कोष, स्थानीय लायन्स तथा स्थानीय जनताको सहयोगबाट प्राप्त भएको ECG, ECO, TMT, Ultra Sound लगायत मुटुरोगको उपचारको लागि आवश्यक उपकरणहरु लायन्स क्लब काभ्रे बनेपालाई हस्तान्तरण हुन लागेको हो ।


क्लिनिक सञ्चालनबारे लायन्सले जारी गरेको विज्ञप्ती

लायन्स क्लबको स्थापनाको ४५ औ वर्षको दौरानमा आफ्नो स्थापनाकाल यता निरन्तर रुपमा समाजसेवाको काममा अगाडी बढिरहेको छ विशेषगरी ३८ वर्ष अघि लियो क्लब अफ काभ्रे बनेपाको स्थापना हुनु र २१ वर्ष अघि लियो क्लब अफ बनेपा स्थापना भई जुझारु, युवा, बुद्धिजीवीहरु तथा लब्ध प्रतिष्ठित व्यक्तिहरुलाई आजको दिनसम्म समाजको हरेक क्षेत्रमा विशुद्ध सामाजिक कार्यहरुमा आफूहरुलाई समर्पित गरी आजको अवस्थासम्म ल्याउन योगदान पुयाउनु हुने सम्पूर्ण लायन्स साथीहरु तथा लियो क्लबका भाइबहिनीहरुलाई मेरो हार्दिक अभिवादन तथा न्यानो माया छ । 

स्थापनाकालको ४५ वर्षको दौरानमा लायन्स क्लब काभ्रे बनेपाले समाजमा पछाडि परेका वर्गको सेवामा सदैव समर्पित रहिरने क्रममा विगतमा थुप्रै सामाजिक कार्यहरु गरि आएको यहाँहरु सबैमा सर्वविदितै छ । 


विशेषगरी स्वास्थ्य क्षेत्रमा खर्चिलो उपचारमा नेपालीहरुको कम मात्र पहुँच भएको मनन गरी पटक-पटक स्वदेशी तथा विदेशी दक्ष चिकित्सक टोली ल्याई प्लाष्टिक सर्जरी महिला तथा स्वास्थ्य प्रजनन, पाठेघरसम्बन्धी, बहिराहरुलाई कानमा कृतिम जाली प्रत्यारोपण, दन्त शिविर, पटक पटक आँखा शिविर, रक्त दान क्याम्प लगायत स्वास्थ्यसँग सम्बन्धित शिविर सञ्चालन गर्न हिमालय आई फाउण्डेशन, नेपाल नेत्रज्योती संघ, शिरमेमोरियल हस्पितल बनेपा, नेपाल अन्धोपन निवारण संघ, नेपाल हार्ट फाउण्डेशन लगायत स्वदेशी तथा विदेशी संघसंस्थाहरुलाई हातेमालो गरी सेवा गर्दै आएको कुरा म यहाँ निबेदन गर्न चाहन्छु । यस बाहेक विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण, समय-समयमा बृक्षारोपण, बाढीपिडितलाई पटक-पटक लत्ताकपडा वितरण, विगत ४ दशक अगाडी पस्थली खानेपानी योजना सञ्चालन गरी सर्वसाधारण जनतामा खानेपानीको पहुँचमा सहयोग पुयाउने कार्य गरेको र २०७२ सालमा भुकम्प पिडितहरुलाई विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी महिना दिनसम्म राहत वितरण लगायत आवश्यक सहयोग गर्दै आएको प्रति यस कार्यमा लाग्नु भएका लायन साथीहरुलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु ।


सन् १९७८ मार्च ३० का दिन चार्टर भएको यस लायन्स क्लब आफ काभ्रे बनेपाले विगत ४५ बर्षदेखि लायन्स क्लब ईण्टरनेशनलको घोषित सिद्धान्तको मातहतमा रही अनवरत रुपमा विभिन्न सामाजिक क्रियाकलापमा संलग्न रहँदै आएको एउटा विशुद्ध गैर-राजनैतिक सामाजिक संस्था हो । जनताको सामाजिक जीवनसित एकाकार हुँदै अघि बढ्दै आएको यो संस्थाले विगतदेखि वर्तमानसम्म गर्दै आएका विभिन्न सामाजिक क्रियाकलापको पछिल्लो कडी बनेको छ, हाम्रो आफ्नै पहल र सक्रियतामा सञ्चालन गर्न लागेको 'लायन्स कार्डियो क्लिनिक' । ऐतिहासिक शहर बनेपा मात्र होइन, वरिपरिका क्षेत्रका वासिन्दाहरुलाई समेत सरल र सुलभ तरिकाले अनुभवी विज्ञ चिकित्सकहरुबाट गुणस्तरिय मुटुरोग सेवा उपलब्ध गराउने पुनीत ध्येयका साथ Lion's Cardio Clinic को लायन्स क्लब अफ काभ्रे बनेपा र नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखाको सहकार्यमा सञ्चालन हुने मुटु उपचार केन्द्रको लागि लायन्स क्लब अन्तर्राष्ट्रियका अन्तर्राष्ट्रिय अध्यक्ष Lion Brion E. Sheehon ज्यूबाट लायन्स क्लब इन्टरनेशनल LCIF कोष, स्थानीय लायन्स तथा सहृदयी स्थानीय जनताको उदार सहयोगबाट प्राप्त भएको ECG, ECO, TMT, Ultra Sound लगायत मुटुरोगको उपचारको लागि आवश्यक उपकरणहरु लायन्स क्लब काभ्रे बनेपालाई २०७९ पौष ५ गते दिनको १२:३० बजे हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। 


यो क्लिनिक यो समग्र भेगकै लागि स्वास्थ्य क्षेत्रको एउटा नयाँ कोसे ढुन सावित हुने कुरो निर्विवाद छ । यस निम्ति समस्त लायन मित्र तथा अन्य हितैषी सहयोगी हातहरुबाट प्राप्त सहयोगकै कारण आवश्यक आर्थिक श्रोतको जोहो तथा व्यवस्थापन भई सम्पूर्ण यन्त्र उपकरणहरुको समेत जडान भइसकेको अवस्था छ। आवश्यक दक्ष चिकित्सक तथा अन्य सबै पुर्वाधारहरु समेत तम्तयार अवस्थामा छ। निःस्वार्थ जनसेवाको मूलमन्त्रबाट अभिप्रेरित यस क्लिनिकको सुचारु सञ्चालन तथा निर्वाध सेवा प्रवाहका लागि सरोकारवाला सबै संघसंस्था तथा नागरिकहरुबाट सदा झैं सदाशयता र सहयोग प्राप्त हुदै जाने हामीले विश्वास गरेका छौ, र यस निम्ति सम्मानित पत्रकार बन्धुहरुबाट सदा झैं विशेष सहयोग प्राप्त हुने कुरामा पनि पुर्णरुपेण विश्वस्त छौं । धन्यबाद ।


-लायन्स क्लब आफ काभ्रे बनेपा


प्रतिक्रिया



थप समाचारहरु