काभ्रे– जिल्लाको विभिन्न स्थानमा सहज रुपमा यातायात सञ्चालन गर्नका लागि चालु आर्थिक वर्षमा १९ वटा मोटरेबल पुलहरु निर्माण हुने भएको छ । बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत जिल्लामा १२ वटा क्रमागत र सात वटा नयाँ पुल निर्माणको लागि ठेक्का आह्वान गरेको हो ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) बिरेन्द्रकुमार बज्राचार्यले चालु आर्थिक वर्षमा जिल्लामा १९ वटा मोटरेबल पुल निर्माण हुने बताउनुभयो । उहाँले कुल निर्माण हुने पुलमध्ये १२ वटा पुलहरु क्रमागत योजनाको रुपमा अघि बढेको र सात वटा नयाँ बन्ने पुलको बोलपत्र आह्वान गरिएको बताउनुभयो । उहाँले जिल्लाको महाभारत गाउँपालिकामा खानीखोला तथा पार्वती खोला तीनखुट्टे पक्की पुलको ७० प्रतिशत काम, पनौती नगरपालिका–९ मा रोसीखोला खल्थली पक्की पुलको ९९ प्रतिशत, पनौती नगरपालिका–९ मै बाउन्ने सडक पुलको ४० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । यस्तै महाभारत गाउँपालिका–१, ३ जोड्ने देविटार पुल बनखुखोलाको ६८ प्रतिशत, खानीखोला गाउँपालिका–६, ५ जोड्ने खानीखोला पुलको ६६ प्रतिशत, काभ्रेपलाञ्चोकको खानीखोला–७ र ललितपुर जोड्ने दुर्लुङखोला पुलको २५ प्रतिशत काम सकिएको कार्यालयले जनाएको छ । जिल्लाको रोसी गाउँपालिका–३ मा अँधेरी खोला पक्की पुलको ६० प्रतिशत, धुलिखेल नगरपालिका–१० मा निर्माणाधिन सुँडिखोला पुलको ३० प्रतिशत महाभारत गाउँपालिका अन्र्तगत जनमुक्ति मार्गमा पर्ने आँकुरा खोला सडक पुलको काम ३५ प्रतिशत सम्पन्न भएको छ ।
सिडिई बज्राचार्यले मण्डनदेउपुर–६ मा थारखोला सडक पुल निर्माण अन्र्तगत हालसम्म २५ प्रतिशत, पनौती नगरपालिका–१०, ११ जोड्ने रोसीखोलाबाट शङ्खु बल्थली पुल (बालुवा) को काम ५५ प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँले मण्डनदेउपुर नगरपालिका–८ स्थित ढाइटार दारमेटार पुललाई क्रमागत योजनामा राखेर पुल निर्माणको काम सुरुवात गर्न लागिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा नै जिल्लामा अन्य सात वटा पुल निर्माणको काम सुरु गर्न बोलपत्र आह्वान गरिएको बताउनुभयो । उहाँले तेमाल गाउँपालिका–५ मा रोसीखोला गिम्दीबेशी पुल, रोसी गाउँपालिका–५ र ६ जोड्ने पोटाखोला पुल, धुलिखेल नगरपालिका–१ र २ जोड्ने चमारे खोला पुल निर्माणको लागि चैत १० गते बोलपत्र आह्वान गरिएको बताउनुभयो । यसैगरी यसै वर्ष सुरु गर्नका लागि डाँफेखोला पक्की पुल, नमोबुछ नगरपालिका–७ मा दाप्चाखोला पक्की पुल, पनौती नगरपालिका–३ मा घ्याल्कुखोला मोटर पुल र भैसेपाटी महेन्द्रज्योती पनौती जोड्ने ल्याखुनखोला मोटर पुलको बोलपत्र आह्वान गरिएको बताउनुभयो । उहाँले कार्यालयबाट निर्माण भैरहेका कुल पुलमध्ये दुई वटा कल्भर्ट र १७ वटा मोटरेबल पुल निर्माण सम्पन्न भएपछि विभिन्न पालिका र वडा तथा बस्तीसम्म सहज रुपमा यातायात सञ्चालन गर्न मद्दत गर्ने बताउनुभयो ।