प्रहरी चौकी पाँचखाल पुनर्स्थापनामा स्वेच्छाको हातेमालो


मेचीकाली

पाँचखाल-पाँचखाल नगरलाई आफ्नो कार्यक्षेत्र बनाएर निरन्तर सेवा दिइरहेको स्वेच्छा बचत तथा ॠण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत क्षतिग्रस्त पाँचखाल प्रहरी चौकिलाई कार्यालय फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ। गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा पुर्णरुपमा ध्वस्त बनेको पाँचखाल प्रहरी चौकीमा दैनिक सेवाप्रवाहमा समेत समस्या हुँदै आइरहेको थियो। यसैक्रममा नजिकै रहेको ब्यक्तिगत घरबाट सेवा सुरु गरेको प्रहरीले दैनिक कार्यसंचालनका निमित्त आवश्यक पर्ने सोफा तथा टेबल कुर्सी लगायतका सामाग्रीहरु पाँचखालमै संचालनमा रहेको स्वेच्छा साकोसबाट सहयोग स्वरुप पाएको छ।

 आन्दोलन पछि मनोबल उच्च राख्दै जनताको सेवामा पुन: लयमा फर्किँदै  नंया स्थानबाट सेवा दिनथालेको प्रहरी चौकिमा उक्त सहयोग सामाग्री ग्रहण गर्दै पाँचखाल प्रहरी चौकिका प्रमुख प्रहरी निरीक्षक प्रशान्त तामाङले कम्प्युटर तथा फाइल ब्यबस्थापनका लागि आवश्यक टेबुलकुर्सी तथा सेवाग्राहीहरुका लागि आवस्यक पर्ने सोफा सहयोग स्वरुप पाउँदा कार्यालय व्यवस्थापनमा निकै ठूलो सहयोग पुगेको बताए। लगभग सुन्यबाटै सुरुवात गर्नुपर्ने अवस्थामा रहेको कार्यालयलाई व्यवस्थापनको लागि ब्यक्तिगत सहयोगको अफर निरन्तर आइरहेको भएपनी यस्तै खालका संस्थागत सहयोगलाई मात्रै स्वीकार गर्न सकिने जानकारी दिँदै साकोस परिवार प्रती आफु आभारी रहेको बताए।

फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रममा  साकोसका अध्यक्ष ओमकार श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले आफ्नो परिधिभित्र रहेर समाजमा आइपर्ने विभिन्न खालका बिपत्तिमा हातेमालो गर्ने बताए। संस्थाले गरेको सहयोग सानो भएपनी यसले प्रहरी र नागरिकबीच सम्बन्ध सुमधुर बनाउँदै सामाजिक रुपमा उदाहरणीय बन्न अरुलाई समेत प्रेरित गर्ने बताए। समाजको सुरक्षासँगै  स्थानीय समुदायको शान्ति  सुव्यवस्थापनमा प्रहरी प्रशासनको  बलियो भूमिकामा रहने हुनाले प्रहरी कार्यालयलाई  आवश्यक पर्ने सामग्री सहयोग गर्नु सबै नागरिकको कर्तव्य भएको पनि उनले बताए। यसैक्रममा अन्य पदाधिकारीहरूले सहकारी संस्था केवल आर्थिक सेवामा मात्र सीमित नभई समाजको समग्र विकास, शान्ति सुरक्षा र आपत्कालीन अवस्थामा  पनि सक्रिय रूपमा योगदान गर्दै आउने बताए।

  सहयोग हस्तान्तरण कार्यक्रममा पाँचखाल प्रहरी चौकिका तर्फबाट प्रहरी निरिक्षक प्रशान्त तामाङ तथा ट्राफिक प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश थपलिया सहभागी थिए भने स्वेच्छा साकोसका तर्फबाट अध्यक्ष ओमकार श्रेष्ठ, उपाध्यक्ष सुरेश दनुवार,सचीव गणेश दनुवार,ब्यबस्थापक सन्तोष नापित लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सोफा २ थान, टेबुल १ थान र प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया



थप समाचारहरु

 

सुरु भयो दशैं