घरेलु हिंसा सम्बन्धी पन्चानब्बे उजुरी दर्ता


मेचीकाली

काभ्रे– सरकारले घरेलु तथा लैङ्गिक हिंसा न्यूनिकरण लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेपनि अझै पनि त्यस्ता घटनामा न्यूनिकरण हुन सकेको छैन । काभ्रेपलाञ्चोक जिल्लाको पछिल्लो चार महिनाको तथ्याङक हेर्दा जिल्लामा घरेलु हिंसाका घटनाहरुमा बृद्धि हुने देखिन्छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म जिल्लामा घरेलु हिंसा सम्बन्धी ९५ वटा उजुरी दर्ता भएको बताउनुभयो । उहाँले साउन महिनामा घरेलु हिंसा सम्बन्धी २७ वटा, भदौ महिनामा ३१ वटा, असोज महिनामा १७ वटा र कात्तिक महिनामा २० वटा उजुरी दर्ता भएको बताउनुभयो । उहाँले प्रहरीकोमा दर्ता भएका घरेलु हिंसा सम्बन्धी मुद्धामध्ये साउनमा १६ वटा, भदौमा २१ वटा, असोजमा ११ वटा र कात्तिक महिनामा १२ गरी कूल ६० वटा उजुरीको मिलापत्र भएको बताउनुभयो । 

प्रहरी नायव उपरीक्षक खतिवडाले प्रहरीकोमा दर्ता भएका घरेलु हिंसा सम्बन्धी उजुरीमध्ये २२ वटा उजुरीलाई अदालत पठाइएको छ भने १३ वटा उजुरीका मानिस सम्पर्कमा नआएको बताउनुभयो । अघिल्ला आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लामा घरेलु हिंसाका १७८ वटा उजुरी दर्ता भएका थिए भने त्यसमध्ये १३१ वटाको मिलापत्र, १८ वटा अदालत गएका थिए भने २९ वटा उजुरीका मानिसहरु सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यसैगरी जिल्लामा पछिल्लो चार महिनामा २८ महिलाले आत्महत्या गरेका छन् भने १० महिलालाई जर्वजस्ती करणी र दुई महिलामाथि जर्वजस्ती करणीको प्रयास भएको काभ्रे प्रहरीले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षमा जिल्लामा ५९ महिलाले आत्महत्या, २८ महिलालाई जर्वजस्ती करणी, छ महिलालाई जर्वजस्ती करणीको प्रयास, दुई महिला बोक्सीको आरोपमा पक्राउ, बाल यौन र्दुव्यवहारका तीन र बहुबिवाहका तीन वटा घटना प्रहरीकोमा दर्ता भएको थियो । प्रहरीका अनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा जिल्लामा २३ जना महिला र आठ जना बालिका हराएका छन् भने दश महिला र सात बालिका फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले जिल्लामा हुने महिला तथा लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न जनचेनामूलक कार्यक्रमहरु सञ्चालन गरिँदै आएको जनाएको छ 


प्रतिक्रिया



थप समाचारहरु

 

काभ्रे भिमसेनलाई अनिलाको सहयोग

 

महाशिवरात्रीको दार्शनिक अर्थ र महत्व