विश्व पोलियो दिवसमा पनौतीमा र्‍याली तथा अन्तक्रिया


मेचीकाली

पनौती– रोटरी क्लब अफ पनौती, रोट्¥याक्ट क्लब अफ पनौती र इन्टर्‍याक्ट क्लब अफ सिद्धार्थ वनस्थलीको संयुक्त आयोजनामा आइतबार पनौतीमा विश्व पोलियो दिवस मनाइएको छ ।

सहभागीहरुले इन्द्रेश्वर मन्दिर प्राङ्गणबाट विश्व पोलियो दिवसको ब्यानरसहित नगर परिक्रमा गरेका थिए । सो पश्चात नेपाल भोकेस्नल एकेडेमीमा आयोजित कार्यक्रममा पोलियो रोग उन्मूलनमा रोटरीले खेलेको भूमिकाबारेमा विज्ञहरुले प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं पनौती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सनाले नेपालबाट पोलियो उन्मूलन हुनुमा रोटरीलगायत विश्व स्वास्थ्य संगठन, युनिसेफजस्ता अन्तराषर््िट्रय निकायहरुको ठुलो सहयोग रहेको बताए । उनले भने, ‘पनौती नगरपालिकाले पनि खोप कार्यक्रमलाई प्राथमिकता दिएको र निरन्तर खोप कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । स्वास्थ्यका विभिन्न दिवसहरुमा रोटरी, रोट्र्‍याक्ट र इन्टर्‍याक्टसँग नगरपालिकाले मिलेर कार्यक्रमहरु लागू गरिरहेको छ’, तिमल्सिनाले थप्नु भयो

रोटरी पनौतीका संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका प्राडा सुमनराज ताम्राकारले अहिले कोरोना भाइरसका कारण आम समुदायलाई खोप र रोगबारे बुझाउन सहज भएको बताउनु भयो । उनले भने, ‘विगतमा धेरै अभिभावकहरुलाई पोलियो खोपबारेमा बुझाउन कठिन थियो । अब सबैले पोलियोलगायतका सबै खाले खोपको महत्व बुझ्न थालेको हुँदा नेपालमा खोपको कभरेज पनि बढ्दो रहेको छ’, ताम्राकारले थपे । कार्यक्रममा रोटरी क्लब अफ पनौतीका अध्यक्ष(निर्वाचित) मधसुधन गुरागाईं, वर्तमान अध्यक्ष सितु सैंजु, रोट्¥याक्ट क्लब अफ पनौतीका अध्यक्ष आशुतोष केसी र इन्टर्‍याक्ट क्लब अफ सिद्धार्थ वनस्थलीकी अध्यक्ष मानुषी थापाले पोलियो उन्मूलनमा रोटरी इन्टरनेशनलका सबै प्रकारका क्लबहरुको भूमिकाबारेमा प्रष्ट पारेका थिए

रोटरी इन्टरनेशनलद्वारा जारी विज्ञप्ति अनुसार रोटरीले सन् १९७९ देखि नै पोलियो रोग उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । यसै सन्दर्भमा हरेक वर्षको अक्टोबर २४ तारिखमा विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी सचेतना जगाउने गरिन्छ । हाल विश्वमा पाकिस्तान र अफगानिस्तानबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएको बताइन्छ । यद्यपि नेपाल सरकारले अफगानिस्तानबाट फर्किएका नेपालीहरुलाई पोलियो खोप लगाइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अफगानिस्तानमा रहेको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरेको हो । अफगानिस्तानलाई तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपालीहरु स्वदेश फर्किएका थिए । 



प्रतिक्रिया



थप समाचारहरु