धुलिखेल–खावा सडक : १४ महिनाभित्र सम्पन्न हुने


मेचीकाली

काभ्रे-निर्माण व्यवसायीको लापर्वाहीका कारण लामो समयसम्म वेवारिसे अवस्थामा रहेको अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको काम आगामी चौध महिनामा सम्पन्न गरिने भएको छ । 

कात्तिक २४ गते सडक डिभिजन भक्तपुर र सिएम/एवान/काली जेभी काठमाडौँबीच आगामी १४ महिनाभित्र धुलिखेल–खावा सडक खण्डको काम सम्पन्न गर्ने गरी नयाँ ठेक्का सम्झौता भएको हो ।

सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले लामो समयदेखि अलपत्र अवस्थामा रहेको अरनिको राजमार्गको धुलिखेलदेखि खावासम्मको सडक निर्माणको लागि नयाँ ठेक्का सम्झौता भएको बताउनुभयो । उहाँले नयाँ सम्झौता अनुसार ठेक्का सम्झौता भएको मितिले १४ महिनाभित्र निर्माण व्यवसायीले सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने बताउनुभयो । “धुलिखेलदेखि खावासम्मको सडक निर्माणको लागि निर्माण व्यवसायी कम्पनीसँग ३१ करोड ५६ लाख रुपियाँको सम्झौता भएको हो” सिडिई योगेशले भन्नुभयो । उहाँले सम्झौता अनुसार निर्माण व्यवासायीले आगामी चैत मसान्तभित्र धुलिखेलदेखि खावासम्मको सडक कालोपत्रे गरिसक्नु पर्नेछ । “चैतभित्र कालोपत्रे सम्पन्न गर्ने, उक्त काम सकिएसँगै सडकमा रहेका पहिरो पन्छाउने, स्ट्रक्चर निर्माणको काम समेत सँगसँगै अघि बढाइनेछ, निर्माण व्यवसायीले वर्षायाम अघि नै सडकको सबै काम सम्पन्न गर्छ भन्ने विश्वास छ” सिडिई योेगेशले थप्नुभयो । यसअघिको ठेक्का पाएको निर्माण व्यवसायीले सडक विस्तारको लागि अधिकाँश स्थानमा सडक कटिङको काम सकिएकोले कटिङ गर्न बाँकी रहेको स्थानमा ड्रेन राख्नको लागि मात्रै कटिङग गरिने सडक डिभिजन भक्तपुरले जनाएको छ ।

सिडिई योगेशले  धुलिखेलदेखि खावासम्मको सडक सात मिटर चौडाईको बन्ने बताउँदै नयाँ ठेक्का सम्झौता हुँदा हाल सूर्यविनायक–धुलिखेल सडक आयोजनाको समापन सिमाबाटै सडक विस्तारको काम हुने बताउनुभयो । धुलिखेल–खावा सडक विस्तारको क्रममा सडकमा रहेको पहिरो व्यवस्थापनको लागि नयाँ प्रविधिको प्रयोग गरिने भएको छ । सिडिई योगेशले सडकमा रहेको पहिरो व्यवस्थापनका लागि पहिलाको डिजाइनमा समावेश नभएको स्वायल नेलिङ, जुट नेटिङ, सर्फेस ड्रेनेज (भित्री भागको पानीलाई पाइपको माध्यमबाट पानी बाहिर निकाल्ने काम)लगायतका केही नयाँ कामहरु गरिने बताउनुभयो । उहाँले धुलिखेल–खावा सडक खण्डमा ट्रिपर धेरै गुड्ने भएकोले सडकको दिगोपनाको लागि सिमेन्ट बेश हालेको बेलामा केही समयको लागि ट्रिपरहरुलाई बैकल्पिक मार्गबाट पठाइने बताउनुभयो । 

यसअघि सम्झौता भएको २२ महिनाभित्र सडक विस्तारको काम सम्पन्न गर्ने गरी धुलिखेलदेखि–खावासम्मको चार दशमलव १५५ किलोमिटर सडक विस्तार गर्नका लागि सडक डिभिजन भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते ठेक्का सम्झौता भएको थियो । उक्त निर्माण कम्पनीले पटक-पटक म्याद थप गर्दा समेत सन्तोषजनक काम नगरेपडि डिभिजनले २०८१ फागुन १५ गते निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको थियो । 

यसैबीच गत वर्षको बाढीबाट क्षतिग्रस्त भएको विपी राजमार्गको डालाबेशीदेखि पिप्लेसम्मको दुई दशमलव तीन किलोमिटर सडक पुननिर्माणको लागि गत शुक्रबार नयाँ सम्झौता भएको सडक डिभिजन भक्तपुरले जनाएको छ । उक्त सडक पुननिर्माणको लागि उमा एण्ड कम्पनी-भण्डारी-अमरज्योती जेभीसँग ५६ करोड रुपियाँमा सम्झौता भएको हो । उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । 


 


प्रतिक्रिया



थप समाचारहरु

 

बल्थलीमा २० जनाद्वारा रक्तदान