विवादरहित ढंगले काम गर्न महान्यायाधिवक्ताको निर्देशन


मेचीकाली

काभ्रेपलाञ्चोक– वर्षौदेखि जीर्ण कार्यालय भवनबाट सेवा प्रवाह गर्दै आएको जिल्ला सरकारी वकीलको कार्यालयको नयाँ भवन निर्माणको काम सम्पन्न भएको छ । हालै निर्माण सम्पन्न भएको कार्यालयको सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले नयाँ भवनको उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महान्यायाधिवक्ता डा. पोखरेलले नयाँ भवन निर्माण भएसँगै कार्यालय र कर्मचारीहरुमाथि जिम्मेवारी थपिनुको साथै नागरिकले सहज रुपमा सेवा पाउने अपेक्षा गर्ने भएकोले नागरिकको अपेक्षा अनुसार सहज रुपमा आलोचना रहित ढंगले सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । उहाँले पछिल्लो समय काठमाडौँ जिल्ला अदालतमा मात्रै सिमित रहेको साइबर क्राइमको मुद्धा सबै जिल्ला अदालत, उच्च अदालत पाटनमा रहेको चेक अनादरको क्षेत्राधिकार पनि जिल्ला अदालतहरुमा दिइएको बताउनुभयो । महान्यायाधिवक्ता डा. पोखरेलले देवानी दायित्व भएको मुद्धाको मिलापत्र गर्नका लागि महान्यायाधिवक्ता कार्यालय पुग्नुपर्ने बाध्यतालाई सरकारी वकिलको कार्यालयमा दिइएको बताउनुभयो । उहाँले फौजदारी संहिताका नयाँ प्रावधानलाई कार्यान्वयन गर्ने काम समेत सुरु गरिएको बताउनुभयो ।
कार्यक्रममा नायव महान्यायाधिवक्ता विश्वराज कोईरालाले महान्यायाधिवक्ता कार्यालय अन्र्तगत रहेका ८० वटा कार्यालयको भवन निर्माण सम्पन्न भईसकेको बताउनुभयो । उहाँले नयाँ भवन बनेसँगै जिल्ला सरकारी वकीलको कार्यालय काभ्रेपलाञ्चोकले पिडित मैत्री कक्षहरुको सहि ढंगले प्रयोग गरी नागरिकलाई सेवा प्रदान गर्न निर्देशन दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख दिपक गौतमले नयाँ भवनबाट सेवा प्रवाहका लागि सहज हुने बताउँदै वर्षौदेखि मुद्धाका कारण अलपत्र परेको जिल्ला प्रशासन कार्यालयको मुद्धालाई छिटो किनारा लगाइदिन महान्यायाधिवक्तालाई अनुरोध गर्नुभयो । कार्यक्रममा जिल्ला न्यायाधिश मोहनराज भट्टराई, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकाल, नेपाल बार एसोशियसन काभ्रेका अध्यक्ष विष्णु प्रसाद सापकोटा, उच्च  सरकारी वकीलको कार्यालय पाटनका सहायक न्यायाधिवक्ता शंकर खत्रीले नयाँ भवन निर्माण भएसँगै सेवा प्रवाहमा थप सहजता आउने बताउनुभयो ।
जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेतले २०४५ सालमा निर्माण भएको भवन २०७२ को भुकम्पका कारण क्षति भएपछि नयाँ भवन निर्माण गरिएको बताउनुभयो । उहाँले चार करोड नौ लाख ४० हजार रुपियाँको लागतमा भवन निर्माण गरिएको बताउनुभयो । गत वर्ष असार २० गतेबाट निर्माण सुरु गरिएको भवन समयभन्दा १८ दिन पहिले नै सम्पन्न भएको थियो । भवन मालिका÷बज्र जेभि सिन्धुपाल्चोकले निर्माण गरेको हो ।


प्रतिक्रिया



थप समाचारहरु