बनेपामा फूटबलको ‘विन्टर क्याम्प’, ९० जना बालबालिका फूटबल सिक्दै


मेचीकाली

बनेपा–विद्यालयहरुमा जाडो विदा सुरु भएसँगै फूटबल सिक्न चाहने बालबालिकाका लागि बनेपामा विन्टर क्याम्प सुरु भएको छ । 

बनेपा फूटबल एकेडेमी बनेपाले आज शनिबारदेखि १५ दिने क्याम्प सञ्चालन गर्दै फूटबल प्रशिक्षण थालेको हो । क्याम्पको उद्घाटन बागमती प्रदेश फूटबल संघका अध्यक्ष निरोज श्रेष्ठ र बनेपा नगरपालिका वडा नं. ५ का वडा सदस्य कृष्णगोपाल वैद्यले बनेपा फुडबल एकेडेमीका अध्यक्ष निरोश शाक्य र प्रशिक्षक राजु लामालाई बल हस्तान्तरण गरेर गरेका थिए । 

क्याम्पमा ९० जना बालबालिका सहभागि भएको एकेडेमीका उपाध्यक्ष मनिष भोछिभोयाले जानकारी दिए । एकेडेमीका सदस्य रसिला मगरले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा बनेपा ५ का वडासचिव राजु खत्री, ग्राउण्ड व्यवस्थापन समितिका अध्यक्ष कञ्चन नापित, प्रेस चौतारी काभ्रेका पूर्व अध्यक्ष भुवन रायमाझी लगायतको उपस्थिति रहेको थियो । 

राष्ट्रियस्तरका फूटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले बनेपा एकेडेमी स्थापना गरिएको हो । जिल्लामै रहेका माउन्ट एभरेष्ट फूटबल क्लब र बनेपा फूटबल क्लब मिलेर २ वर्षअघि एकेडेमी स्थापना गरिएको थियो । एकेडेमीमा दैनिक ६० जना बालबालिकाले प्रशिक्षण लिँदै आएका छन् । एकेडेमीका उपाध्यक्ष मनिष भोछिभोयाका अनुसार एकेडेमीमा प्रशिक्षण लिएका खेलाडीहरु सम्मिलित खेलाडीहरु सहभागी माउन्ट एभरेष्ट फुटबल क्लब २०८१ सालको जिल्ला लिगमा पहिलो र बनेपा फुटबल क्लब दोस्रो हुन सफल छन् ।

यस्तै २०८० सालमा अण्डर १४ खेलाडी छनोटमा एकेडमीबाट ३ जना खेलाडी छनोट भएका थिए भने २०८१ को अण्डर १६ छनोटमा ४ जना खेलाडीहरु केन्द्रीय छनोटसम्म पुग्न सफल भएका थिए ।

 


प्रतिक्रिया



थप समाचारहरु