सुरु भयो २९औं आइजिपी रनिङ ट्रफी फूटबल


मेचीकाली

साँगा- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फूटबल प्रतियोगिता २०८० आजदेखि सुरु भएको छ ।

प्रतियोगिताको प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक चौधरीले खेलकुदले विद्यार्थीहरूमा सकारात्मक सम्बन्ध स्थापना गरी शारीरिक रूपमा तन्दुरुस्त एवं अध्ययनको दिनचर्यामा अनुशासन थप्दै शैक्षिक क्षेत्रमा राम्रो प्रर्दशन गर्न प्रेरित गर्ने बताउनुभयो । फुटबल नेपाल प्रहरीको पहिचान र इतिहाससँग जोडिएको उल्लेख गर्दै खेलकुदलाई पहिचान, गौरव र आवश्यकताको रुपमा विकास गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभयो ।

 

आयोजक विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक निरन्जन दत्त भट्टले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए । 

प्रतियोगिता अन्तर्गत आज भएको उद्घागटन खेलमा नेपाल पुलिस स्कुल साँगाको ए टीमले काठमाडौं युनिभर्सिटी हाईस्कुल धुलिखेललाई ५-० गोल अन्तरले पराजित गरेको छ । विजयी टिमको लागि पदम चौलागाई र लक्ष्मण थामीले २-२ गोल र बिराज थापाले १ गोल गरे। खेलमा लक्ष्मण थामी म्यान अफ् द म्याच घोषित भए। 

आजै भएको दोस्रो खेलमा बेलर स्कुल बनेपा र ग्रेसल्याड स्कुल साँगाले १-१ गोलको बराबरि खेलेका छन्। प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७  टीमको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया



थप समाचारहरु