बेथानचोकस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न


मेचीकाली

च्याम्राङबेंशी - बेथानचोक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रतर्फ पार्वती माध्यमिक विद्यालय तथा छात्रातर्फ भूमिमाता माध्यमिक विद्यालय प्रथम भएका छन् ।

गाउँपालिकाको वडा नं. १ को च्याम्राङबेंशीमा भएको प्रतियोगितामा छात्रतर्फ चक्रेश्वर माध्यमिक विद्यालयले र छात्रातर्फ सरस्वती माध्यमिक विद्यालय पार्थलीले दोस्रो स्थानमा चित्त बुझाए । तृतीय स्थानमा छात्रतर्फ भिमसिनेश्वर माध्यमिक विद्यालय तृतीय भयो भने चक्रेश्वर माध्यमिक विद्यालयले छात्रातर्फको तेस्रो स्थान आफ्नो पोल्टोमा परेको छ । गाउँपालिका भरीका १० वटै माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

विजयी विद्यालयका टिमहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार वितरण गर्दै बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले स्थानीय स्तरमा हुने प्रतियोगिताले प्रतिभा उत्पादन हुने भएकाले प्रतियोगिताको विशेष महत्व रहेको बताउनुभयो ।

उहाँले सबै गतिविधि गाउँपालिकाको केन्द्रमा मात्र गर्नुहुन्न भन्ने मान्यताका साथ रनिङ शिल्ड प्रतियोगितालाई वडा नंं १ मा गरिएको र अन्य वडाहरुमा पनि यसरी नै विविध गतिविधि गर्दै जाने बताउनुभयो । गाउँपालिकाले खेलकुद, शिक्षा विज्ञान र प्रविधिको कार्यक्रमलाई प्राथमिकतामा राखेकोले विकास भनेको बाटो र अन्य पूर्वाधार मात्र नभई व्यक्तिको चौतर्फी विकास पनि भएको कुरा जीकिर गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले नयाँ प्रतिभाको खोजी हुनु, अवसर पाउनु र पुरानाहरू निखारिदै जानुले समग्र देशको खेलकुदमा योगदान बढ्ने भएकाले प्रतियोगिताको उद्देश्य प्रतियोगिताले नै पूरा गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं. १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता मधुसुधन तिमल्सिनाले यस वर्षको प्रतियोगिता सम्पन्न गर्नका लागि वडा नं. १ लाई मौका दिएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । बिजेता टिमहरुलाई स्थानीय संघ संस्थाले नगद पुरस्कारसमेत प्रदान गरेका छन् ।

समापन कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिना, वडा नं. ३ का अध्यक्ष कुबेर ढकाल, वडा नं. ४ का अध्यक्ष कृष्ण लामा, वडा नं. ५ का अध्यक्ष राजकुमार वाइबा, वडा नं. ६ का अध्यक्ष विष्णु तामाङ, विभिन्न वडाका सदस्यहरु, सहभागी विद्यालयका शिक्षक प्रतिनिधि, प्रशिक्षक लगायतको उपस्थिति रहेको थियो । बेथानचोक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको संयोजन चक्रेश्वर माध्यमिक विद्यालयले गरेको थियो ।


प्रतिक्रिया



थप समाचारहरु