‘विन्टर क्याम्प’ सञ्चालन गर्दै बनेपा फूटबल एकेडेमी


मेचीकाली

बनेपा– काभ्रे जिल्लामा फूटबल खेलको विकासका लागि स्थापना गरिएको बनेपा फूटबल एकेडेमी बनेपाले पहिलोपटक विद्यार्थीहरुको विदाको समय पारेर प्रशिक्षण क्याम्पस सञ्चालन गर्ने भएको छ । विद्यालयहरुमा जाडो विदा हुने समय पारेर यही पुस १९ गतेदेखि १५ दिन लामो क्याम्पस सञ्चालन गर्न लागिएको एकेडेमीका अध्यक्ष निरोज शाक्यले बताए । ‘विदाको समयमा विद्यार्थीहरु खाली बस्ने हुँदा कुलतमा नलागुन् र खेलप्रति आकर्षण बढोस् भन्ने उद्देश्यले क्याम्प सञ्चालन गर्न लागिएको हो’ शाक्यले भने । क्याम्पमा ८ बर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउने शाक्यले बताएका छन् । क्याम्पमा सहभागी हुन १५ सय रुपैयाँ शुल्क तोकिएको छ । 

राष्ट्रियस्तरका फूटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले बनेपा एकेडेमी स्थापना गरिएको हो । जिल्लामै रहेका माउन्ट एभरेष्ट फूटबल क्लब र बनेपा फूटबल क्लब मिलेर २ वर्षअघि एकेडेमी स्थापना गरिएको थियो । एकेडेमीमा दैनिक ६० जना बालबालिकाले प्रशिक्षण लिँदै आएका छन् । एकेडेमीका उपाध्यक्ष मनिष भोछिभोयाका अनुसार एकेडेमीमा प्रशिक्षण लिएका खेलाडीहरु सम्मिलित खेलाडीहरु सहभागी माउन्ट एभरेष्ट फुटबल क्लब २०८१ सालको जिल्ला लिगमा पहिलो र बनेपा फुटबल क्लब दोस्रो हुन सफल छन् । यस्तै २०८० सालमा अण्डर १४ खेलाडी छनोटमा एकेडमीबाट ३ जना खेलाडी छनोट भएका थिए भने २०८१ को अण्डर १६ छनोटमा ४ जना खेलाडीहरु केन्द्रीय छनोटसम्म पुग्न सफल भए ।

पत्रकार सम्मेलनमा काभ्रे जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका एन्फाका केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठले जिल्ला फुटबल संघ र एन्फाले एकेडेमीलाई निरन्तर प्राविधिक सहयोग गर्दै आइरहेको बताए । पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले एकेडेमीलाई स्थानीय, प्रदेश र संघ सरकारले सहयोग गरेमा काभ्रेमा राष्ट्रियस्तरका फूटबल खेलाडीहरु उत्पादन हुने बताए । 

  


प्रतिक्रिया



थप समाचारहरु