काभ्रे– परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै कृषि उत्पादन वृद्धि, श्रमको अभाव न्यूनीकरण र कृषकको आयआर्जन बढाउने लक्ष्यका साथ नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका विभिन्न कृषि कार्यक्रमले उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। कृषि यान्त्रीकरण, व्यावसायिक तरकारी खेती, फलफूल बाली संरक्षण तथा उत्कृष्ट कृषकलाई सम्मान गर्ने कार्यक्रममार्फत नगरपालिकाले कृषि क्षेत्रलाई थप व्यावसायिक र आधुनिक बनाउने प्रयासलाई तीव्रता दिएको छ।
५१७ मिनिटिलर वितरण, खेतीमा बढ्दै यान्त्रीकरण
कृषि यान्त्रीकरणलाई प्राथमिकतामा राख्दै नगरपालिकाले कृषि यान्त्रीकरण वितरण कार्यक्रम अन्तर्गत ५१७ थान पेट्रोल इन्जिन मिनिटिलर कृषकलाई वितरण गरेको छ। यस कार्यक्रमका लागि एक करोड ४८ लाख ८८ हजार ४९ रुपैयाँ खर्च गरिएको नगरपालिकाले जनाएको छ। मिनिटिलरको प्रयोगले खेत जोत्न, माटो तयार गर्न तथा खेतीका अन्य कार्यहरू छिटो, सहज र कम लागतमा सम्पन्न गर्न मद्दत पुगेको छ। पछिल्ला वर्षहरूमा गाउँमा श्रमिकको अभाव बढ्दै गएका बेला यस्ता कृषि उपकरण कृषकका लागि प्रभावकारी विकल्प बनेका छन्।
नगरपालिकाका अनुसार यान्त्रीकरणको प्रयोगबाट खेतीको लागत घट्नुका साथै उत्पादन वृद्धि हुने भएकाले कृषकको आम्दानीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। आधुनिक प्रविधिप्रति कृषकको आकर्षण बढ्दै गएको र कृषि व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन यस कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
टनेल प्लास्टिकले बेमौसमी तरकारी उत्पादनमा टेवा
व्यावसायिक तरकारी खेतीलाई प्रवर्द्धन गर्न नगरपालिकाले ५० प्रतिशत अनुदानमा १६२ थान टनेल प्लास्टिक वितरण गरेको छ। ८ लाख ७४ हजार ८ सय रुपैयाँ बराबरको यो कार्यक्रमबाट धेरै कृषक लाभान्वित भएका छन्। टनेल प्रविधिको प्रयोगबाट गोलभेँडा, काँक्रो, खुर्सानी, बोडी, करेला लगायतका तरकारी बेमौसममा उत्पादन गर्न सहज भएको छ। यसले वर्षभरि उत्पादन सुनिश्चित गर्न मद्दत पुर्याएको छ।
कृषि प्राविधिकहरूका अनुसार टनेलले वर्षा, असिना, शीतलहर तथा अत्यधिक घामजस्ता प्रतिकूल मौसमबाट बाली जोगाउने भएकाले बिरुवाको वृद्धि राम्रो हुने, उत्पादनको गुणस्तर सुधारिने तथा उत्पादन परिमाणसमेत बढ्ने गर्छ। यसले कृषकको आम्दानी बढाउन समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सुन्तलाबारी जोगाउन प्रोटिन बेट वितरण
नमोबुद्ध नगरपालिका सुन्तलाजात फलफूल उत्पादनका लागि परिचित क्षेत्रमध्ये एक हो। फलफूलमा लाग्ने औँसा किरा (फल कुहिने झिंगा) नियन्त्रण गर्न नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा १९३ लिटर प्रोटिन बेट वितरण गरेको छ। ४ लाख ९४ हजार ८० रुपैयाँ बराबरको यस कार्यक्रममा २५ प्रतिशत प्रोटिन हाइड्रोलाइसेट र ०.१ प्रतिशत अबामेक्टिन मिश्रित प्रोटिन बेट कृषकलाई उपलब्ध गराइएको हो।
यसको प्रयोगबाट औँसा किराको प्रकोप प्रभावकारी रूपमा नियन्त्रण भई स्वस्थ तथा गुणस्तरीय फल उत्पादनमा वृद्धि हुने, फल कुहिने समस्या घट्ने र उत्पादनको बजार मूल्यसमेत सुधार हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
उत्कृष्ट २२ कृषक सम्मानित
कृषि तथा पशुपन्छी पालन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका २२ जना कृषकलाई नगरपालिकाले सम्मान गरेको छ। प्रत्येक कृषकलाई १० हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। नगरपालिकाका अनुसार सम्मान कार्यक्रमले मेहनती कृषकलाई प्रोत्साहन गर्नुका साथै अन्य किसानलाई पनि व्यावसायिक कृषि र पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्य राखेको छ।