काभ्रे। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रिसोर्टमा विदेशी नागरिकको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले सोमबार दिउँसो रिसोर्टमा छापा मारेको हो।
प्रहरी टोलीले दिउँसो करिब ३ बजे रिसोर्टमा चेकजाँच गर्दा ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा रिसोर्टका दुईवटा कोठामा ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनसमेत फेला परेका छन्। नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा ल्याइएको छ।
घटनास्थल पाँचखालस्थित प्रहरी चौकीबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ। रिसोर्टमा भेटिएका विद्युतीय उपकरण तथा विदेशी नागरिकहरूको गतिविधिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।