पाँचखालमा कौडा खेल्ने ११ जना पक्राउ


पाँचखालमा कौडा खेल्ने ११ जना पक्राउ
मेचीकाली , 

काभ्रे- काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित सार्वजनिक प्रतीक्षालयमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ परेकाहरूको साथबाट नगद ६१ हजार ५९० रुपैयाँ र १६ थान कौडा बरामद गरिएको छ।

प्रहरीका अनुसार कात्तिक २२ गते राति करिब १०ः३० बजे पाँचखाल नगरपालिका–७ श्रीरामपाटीस्थित सार्वजनिक प्रतीक्षालयमा केही व्यक्तिहरू जुवा (कौडा) खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सूचनापछि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरी टोलीले उक्त स्थानमा छापा मार्दा केही व्यक्तिहरू कौडा खेलिरहेको अवस्थामा फेला पारेको र उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थलबाट जुवामा प्रयोग भइरहेको १६ थान कौडा तथा नगद ६१ हजार ५९० रुपैयाँ बरामद गरेको हो।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक, मकवानपुरलगायत जिल्लाका विभिन्न स्थानका व्यक्ति रहेका छन्।

पक्राउ पर्नेहरूमा पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका ४७ वर्षीय सुवास दंगाल, ४२ वर्षीय ज्ञानबहादुर मिजार, ५३ वर्षीय नवराज ढकाल, ५२ वर्षीय लेखबहादुर मिजार, ४० वर्षीय विनोद ढकाल र ५७ वर्षीय रामभक्त खड्का रहेका छन्।

त्यस्तै, पाँचखाल नगरपालिका–७ का महेश ढकाल, पाँचखाल नगरपालिका–४ का २७ वर्षीय विकास रिजाल पनि पक्राउ परेका छन्। यसैगरी खानीखोला गाउँपालिका–५ का ३० वर्षीय आकाश तामाङ, मकवानपुरको बागमती गाउँपालिका–७ का ४६ वर्षीय भक्तबहादुर वाइबा र बागमती गाउँपालिका–८ का २२ वर्षीय सुकुराम बल पक्राउ परेको प्रहरीले जनाएको छ।

सार्वजनिक स्थानमै कौडा खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका व्यक्तिहरूको संलग्नता, जुवामा प्रयोग भएको रकमको स्रोत तथा घटनासम्बन्धी अन्य पक्षबारे अनुसन्धानपछि थप विवरण खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया



थप समाचारहरु

 

तिहारभरि काभ्रेमा टिपर चलाउन नपाइने !