काग तिहारसँगै आजदेखि यमपञ्चकको रौनक, धन्वन्तरी जयन्ती पनि मनाइँदै


काग तिहारसँगै आजदेखि यमपञ्चकको रौनक, धन्वन्तरी जयन्ती पनि मनाइँदै
मेचीकाली , 

काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज काग तिहार मनाइँदैछ। यमपञ्चकको पहिलो दिनका रूपमा कागलाई पूजा गरी मीठा खानेकुरा खुवाएर यो पर्व मनाउने परम्परा छ। यससँगै आज धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्यता दिवस पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूत मानिन्छ। यमराजले कागमार्फत पृथ्वीका गतिविधिबारे जानकारी लिने विश्वासका आधारमा कागलाई पूजा गर्ने चलन बसेको हो। कागले यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने कामनासहित आज घरको छत, आँगन तथा खुला स्थानमा मीठा परिकार राखेर कागलाई खुवाउने गरिन्छ।

कागले घरआँगनमा आएर कराउनुलाई खबरको संकेत मान्ने परम्परा पनि नेपाली समाजमा छ। यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरसहित हनुमानढोकाको कागेश्वरी मन्दिरमा विशेष पूजा गरिन्छ।

तिथिको घटबढका कारण यस वर्ष यमपञ्चक हिजो बेलुकीदेखि नै सुरु भएको हो। यमदीप दान र धनतेरस पनि हिजै मनाइएको थियो। भोलि नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा मनाइनेछ। कात्तिक २३ गते गाईपूजा तथा २४ गते गोवर्धन, गोरु, बलि र म्हपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुनेछ।

यमपञ्चकको अन्तिम दिन कात्तिक २५ गते बुधबार भाइटीका मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ।

यसैबीच, आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस पनि मनाइँदैछ। आयुर्वेद चिकित्सा क्षेत्रसँग सम्बन्धित सरकारी तथा निजी संस्थाले पूजा, आराधना र विविध कार्यक्रम आयोजना गरेका छन्।

नेपालमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा समेत मनाउन थालिएको हो। आयुर्वेद चिकित्सकले यस दिनलाई शुभकार्य प्रारम्भ गर्ने र आयुर्वेद चिकित्सा पद्धतिको महत्व उजागर गर्ने अवसरका रूपमा लिने गरेका छन्।

नरदेवीस्थित आयुर्वेद क्याम्पसबाट नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउने परम्परा सुरु भएको थियो। अहिले कीर्तिपुरमा रहेको उक्त क्याम्पस २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत सञ्चालनमा छ।

धन्वन्तरी जयन्तीका अवसरमा सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद अस्पताल, आयुर्वेद क्याम्पस कीर्तिपुर, दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस र जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीलगायत संस्थामा कार्यक्रम हुँदैछन्। सिंहदरबार वैद्यखाना विकास समितिका अनुसार पछिल्लो समय आयुर्वेदिक औषधिको माग विगतको तुलनामा चार गुणासम्म बढेको छ।

प्रतिक्रिया



थप समाचारहरु

 

तिहारभरि काभ्रेमा टिपर चलाउन नपाइने !

 

एकतर्फी खुल्यो विपी राजमार्ग