काभ्रे-आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकको आयोजनामा आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। शुक्रबार आयोजित गोष्ठीमा जिल्लाका आठवटा स्थानीय तहले आ–आफ्नो क्षेत्रमा सञ्चालन भइरहेका आयुर्वेद सेवा तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा सेवा प्रवाहको अवस्था, कार्यक्रमको कार्यसम्पादन तथा आगामी दिनमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने विषयमा समीक्षा गर्दै योजना तर्जुमा गरिएको थियो। कार्यसम्पादनका आधारमा धुलिखेल नगरपालिकाअन्तर्गतको धुलिखेल आयुर्वेद औषधालय उत्कृष्ट घोषित भएको छ। त्यसैगरी, नागरिक आरोग्य केन्द्रतर्फ भुम्लु गाउँपालिकाअन्तर्गतको केन्द्र उत्कृष्ट ठहरिएको छ।
कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका नगरप्रमुख निराञ्जन जंगमले धुलिखेललाई आरोग्य सहर बनाउने अभियान अघि बढाइएको बताए। नगरपालिकाका १२ वटै वडामा औषधिजन्य जडीबुटीको पहिचान गर्ने काम सुरु गरिएको जानकारी दिँदै उनले आयुर्वेद अस्पताल निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराउन तयार रहेको बताए।
कार्यक्रममा जनस्वास्थ्य प्रमुख रागीश्री कक्षपति श्रेष्ठ, मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामशरण श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत जनक खड्का, धुलिखेल नगरपालिकाका स्वास्थ्य संयोजक सन्दीप केसी, धुलिखेल अस्पतालको सामुदायिक विभागकी शृंखला श्रेष्ठलगायत विभिन्न कार्यालय तथा संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख डा. अर्जुन उपाध्यायको अध्यक्षतामा सम्पन्न गोष्ठीमा जिल्लामा आयुर्वेद सेवाको पहुँच विस्तार, कार्यक्रमको प्रभावकारिता अभिवृद्धि तथा आगामी योजनालाई व्यवस्थित बनाउने विषयमा छलफल गरिएको थियो।