काभ्रे । काभ्रेपलाञ्चोकका दुईवटा रिसोर्टमा लगातार दुई दिन प्रहरीले छापा मारेर ठूलो संख्यामा विदेशी नागरिकलाई नियन्त्रणमा लिएपछि जिल्लामा विदेशी नागरिकको गतिविधिलाई लिएर गम्भीर चासो उत्पन्न भएको छ।
मंगलबार पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। त्यसको भोलिपल्ट बुधबार पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जना जापानी र ५ जना चिनियाँ गरी थप ४० जना विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुई दिनको अवधिमा काभ्रेका दुई रिसोर्टबाट मात्रै ४१ जना चिनियाँ र ३५ जना जापानी गरी कुल ७६ जना विदेशी नागरिक प्रहरी नियन्त्रणमा परेका छन्। लगातार दुई स्थानमा विदेशी नागरिकको ठूलो समूह भेटिनु र उनीहरूले रिसोर्ट नै भाडामा लिएर गतिविधि सञ्चालन गर्नुले घटनालाई थप रहस्यमय बनाएको छ।
पाँचखालमा ३६ चिनियाँ पक्राउ, ल्यापटप र मोबाइल बरामद
मंगलबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टमा छापा मार्दा ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार उनीहरू करिब एक महिनादेखि रिसोर्ट भाडामा लिएर बस्दै आएका थिए। नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र ५ जना महिला छन्।
प्रहरीले उनीहरूको साथबाट ४९ थान ल्यापटप र १५५ थान मोबाइल फोन बरामद गरेको छ। छापा मार्ने क्रममा २६ जनाको पासपोर्ट फेला परेको र उनीहरू सबै भिजिट भिसामा नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
रिसोर्टभित्र मोबाइल र ल्यापटपका क्यामेरामा टेप टाँसिएको तथा सर्भरजस्तो देखिने छुट्टै कोठासमेत बनाइएको पाइएको थियो। उनीहरूले के उद्देश्यले यति धेरै विद्युतीय उपकरण प्रयोग गरिरहेका थिए भन्ने विषय भने खुल्न सकेको छैन।
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत परिचालन गरिएको छ। बरामद उपकरणको फरेन्सिक परीक्षण गर्ने तयारी गरिएको छ।
पक्राउ परेका ३६ जनालाई थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अध्यागमन विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रवीन विष्टले जानकारी दिएका छन्।
पनौतीमा जापानीसहित थप ४० विदेशी नियन्त्रणमा
पाँचखाल घटनाको अनुसन्धान जारी रहेकै बेला बुधबार बिहान करिब ११ बजे पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टमा प्रहरीले छापा मारेको थियो।
इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी राकेश थापाको नेतृत्वमा पुगेको प्रहरी टोलीले रिसोर्टबाट ३५ जना जापानी र ५ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले रिसोर्ट पूरै भाडामा लिएर बस्दै आएका थिए। रिसोर्टभित्र उनीहरूले कार्यालय सञ्चालन गरेजस्तो गरी छुट्टाछुट्टै क्याबिन बनाएका थिए। प्रत्येक व्यक्ति आ–आफ्नो क्याबिनमा बसेर काम गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको बताइएको छ।
रिसोर्टभित्र छुट्टै फोटो स्टुडियोसमेत स्थापना गरिएको पाइएको छ। अझ रोचक पक्ष, प्रहरी स्टेसनजस्तै देखिने दुईवटा संरचनासमेत बनाइएको पाइएको छ।
ती संरचना किन र कुन प्रयोजनका लागि बनाइएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीकै परिचय दिएर विभिन्न व्यक्तिसँग कुराकानी गर्ने गरिएको हुन सक्ने आशंकासमेत गरिएको छ। यद्यपि यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ।
दुई दिनमा दुई रिसोर्ट, गतिविधि अझै रहस्यमा
पाँचखाल र पनौतीका घटनामा केही समानता देखिएका छन्। दुवै स्थानमा विदेशी नागरिकले रिसोर्ट भाडामा लिएर समूहगत रूपमा बसोबास गर्दै आएका थिए। दुवै स्थानमा कार्यालयजस्तो संरचना बनाएर काम भइरहेको पाइएको छ।
पाँचखालमा ठूलो संख्यामा ल्यापटप र मोबाइल बरामद हुनु, सर्भरजस्तो कोठा भेटिनु तथा पनौतीमा फोटो स्टुडियो र प्रहरी कार्यालयजस्ता संरचना बनाइनुले उनीहरूको वास्तविक उद्देश्यबारे थप प्रश्न खडा गरेको छ।
तर यी गतिविधि गैरकानुनी वा कुनै आपराधिक कार्यसँग सम्बन्धित रहेको निष्कर्षमा पुग्न अनुसन्धान पूरा हुन बाँकी छ। प्रहरीले विदेशी नागरिकको भिसा, बसाइको प्रयोजन, उपकरणको प्रयोग र उनीहरूले सञ्चालन गरिरहेका गतिविधिबारे अनुसन्धान गरिरहेको जनाएको छ।
काभ्रेका दुई फरक स्थानमा लगातार विदेशी नागरिकको ठूलो समूह नियन्त्रणमा परेपछि उनीहरूबीच कुनै सम्बन्ध वा समान उद्देश्य थियो कि थिएन भन्ने प्रश्नसमेत उठेको छ। त्यसबारे भने अहिलेसम्म प्रहरीले कुनै निष्कर्ष सार्वजनिक गरेको छैन।
जिल्लाका अन्य केही होटल र रिसोर्टमा पनि चिनिया नागरिक बसिरहेको स्थानीयले बताएका छन् ।