बनेपाको बुडोल डाँडामा दुई बस ठोक्किँदा २५ जना घाइते


बनेपाको बुडोल डाँडामा दुई बस ठोक्किँदा २५ जना घाइते
मेचीकाली , 

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ स्थित बुडोल डाँडामा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा बालबालिकासहित २५ जना घाइते भएका छन्। बुधबार बिहान करिब ११ः४० बजे भएको दुर्घटनामा दुवै बसमा सवार यात्रु घाइते भएका हुन्।

प्रहरीका अनुसार धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बसलाई विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बसले ठक्कर दिएको थियो। दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पताल पठाइएको थियो।

इलाका प्रहरी कार्यालय बनेपाबाट प्राप्त विवरणअनुसार घाइतेमध्ये २१ जनाको शीर मेमोरियल अस्पताल र चार जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहे पनि केहीको अवस्था मध्यम रहेको छ।

शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेमध्ये काभ्रेको चौरीदेउराली गाउँपालिका–३ का ५८ वर्षीय दुर्गा सिमथानको टाउको दुखेको छ। काभ्रेकै भुम्लु गाउँपालिका–१ का ४० वर्षीय मनिष पहरीको नाक र मुखमा चोट लागेको छ। चौरीदेउराली गाउँपालिका–५ की २६ वर्षीया उर्मिला महतको टाउकोमा चोट लागेको छ भने उनका ११ वर्षीय छोरा युसन बुर्जाको दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।

त्यसैगरी खोटाङको दिक्तेलका ५५ वर्षीया देवकी निरौलाको दाहिने खुट्टामा चोट लागेको छ। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ का १६ वर्षीय छिरिङ लामाको मुखमा चोट लागेको छ। सोही जिल्लाको सुनकोशी गाउँपालिका–५ की २० वर्षीया दिपा कुँवरको पनि मुखमा चोट लागेको छ।

सिन्धुपाल्चोककै साँगाचोक नगरपालिका–१२ की ४० वर्षीया कल्पना खत्रीको बायाँ हात र खुट्टामा चोट लागेको छ। सुनकोशी गाउँपालिका–५ का ४० वर्षीय पाम्देल लामाको मुखमा चोट लागेको छ भने लिसंखुपाखर गाउँपालिका–३ की ४१ वर्षीया राममाया तामाङको पनि मुखमा चोट लागेको छ। सुनकोशी गाउँपालिका–५ का करिब २६ वर्षीय अभिनाश खड्काको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।

सुनकोशी गाउँपालिका–६ की ४१ वर्षीया संगिता कार्कीको दाँतमा चोट लागेको छ। उनका करिब आठ वर्षीय छोरा आरोब बुढाथोकीको बायाँ घुँडामा चोट लागेको छ। सोही वडाकी ३४ वर्षीया आसा सापकोटाको बायाँ खुट्टामा चोट लागेको छ। सिन्धुपाल्चोककै वडा नम्बर १ का करिब ५० वर्षीय एकबहादुर खत्रीको छातीमा चोट लागेको छ।

काभ्रेको भुम्लु गाउँपालिका–५ की करिब ६० वर्षीया कान्छी खरेलको निधारमा चोट लागेको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–८ की करिब ५० वर्षीया कृष्णलक्ष्मी श्रेष्ठको दुवै खुट्टामा चोट लागेको छ। काठमाडौंकी करिब ५५ वर्षीया मानकुमारी शाहको मुखमा चोट लागेको छ भने सिन्धुलीको हरिहरपुर नगरपालिका–४ की ३३ वर्षीया सबिना खड्काको बायाँ खुट्टामा चोट लागेको छ।

त्यस्तै, काभ्रेको धुलिखेल नगरपालिका–८ का १४ वर्षीय असिम पन्तको टाउकोमा चोट लागेको छ। उनकी १० वर्षीया बहिनी अस्मी पन्तको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ।

धुलिखेल अस्पतालमा उपचाररत घाइतेमध्ये काभ्रेको भुम्लु गाउँपालिका–८ की करिब ३८ वर्षीया सबिना खड्काको दाहिने खुट्टाको घुँडामा चोट लागेको छ। सोही स्थानकी १६ वर्षीया सानिया खड्गीको पनि दाहिने खुट्टाको घुँडामा चोट लागेको छ। काभ्रेकै पाँचखाल नगरपालिका–१० का १६ वर्षीय रोहन आचार्यको दाहिने खुट्टामा चोट लागेको छ भने दोलखाको मेलुङ गाउँपालिका–१ की १६ वर्षीया सुनिता थपौलियाको दाहिने घुँडामा चोट लागेको छ।

प्रहरीका अनुसार घाइतेमध्ये मनिष पहरी, उर्मिला महत, देवकी निरौला र कल्पना खत्रीसहित केहीको अवस्था मध्यम रहेको छ। असिम पन्तको टाउकोमा लागेको चोटका कारण उनको अवस्था पनि मध्यम रहेको जनाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरी विवरणमा उल्लेख छ।

दुर्घटनामा संलग्न बा ३ ख ५०६४ नम्बरको बस काभ्रेको चौरीदेउराली गाउँपालिका निवासी ३० वर्षीय सुरज गौतमले चलाएका थिए। त्यस्तै, बा ५ ख २९७ नम्बरको बस रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–६ निवासी करिब २९ वर्षीय देवकुमार सुनुवारले चलाएका थिए। प्रहरीले दुवै बस र चालकलाई नियन्त्रणमा लिएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी नायब उपरीक्षक राकेश थापाको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल इलाका प्रहरी कार्यालय बनेपाबाट करिब दुई किलोमिटर पूर्वमा पर्दछ।

दुई बस कसरी ठोक्किए भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया



थप समाचारहरु

 

तिहारभरि काभ्रेमा टिपर चलाउन नपाइने !

 

एकतर्फी खुल्यो विपी राजमार्ग