भारतीय नागरिकद्वारा बनेपामा बसेर सुनचाँदीको अवैध कारोबार


मेचीकाली

बनेपा–बनेपामा बसेर भारतीय नागरिकले सुन तथा चाँदीको अवैध कारोबार गर्ने गरेको पाइएको छ । प्रहरीले भारतको महाराष्ट्रका एकजनालाई पक्राउ गरेसँगै भारतीय नागरिक अवैध कारोबारमा संलग्न रहेको खुलेको हो । 

भारतका महाराष्ट्र प्रदेश साङ्ली जिल्ला घर भई बनेपामा बस्दै आएका ३९ वर्षीय सचिन विभुते गएराती पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले उनलाई अवैध सूच तथा चाँदी र स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

विभुते बनेपा ७ मा रहेको सुर्य शाक्यको घरमा भाडामा बस्ने गर्दथे । उनले कोठाबाटै अवैधरुपमा सुनचाँदीको कारोबार गर्ने सूचनाको आधारमा सोमबार राती ८ बजे प्रहरीले कोठामा खानतलासी गरेको थियो । सो क्रममा उनलाई अवैध सून चाँदी र रकमसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

उनको साथबाट २२  लाख ६१ हजार रुपैयाँ बराबरको २ सय ३५ दशमलव ९ ग्राम सुन, २ लाख ४३ हजार रुपैयाँ बराबरको १९०१ दशमलव २६ ग्राम चाँदी बरामद गरिएको छ । यस्तै स्रोत नखुलेको नेपाली रकम ५ लाख ७६ हजार १३५ तथा भारतीय रुपैयाँ २२ हजार बराम गरिएको छ । यस्तै सुन जोख्ने ढक तराजु, भारतीय राष्ट्रियता खुल्ने कार्ड, मोबाइल दुई थान, सुन बनाउन प्रयोग हुने माटोको बोचा लगायतका सामग्री पनि बराम गरिएको छ । 

पक्राउ परेका विभुतेलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया



थप समाचारहरु