केही हजार रुपैयाँ र २ तोला सुनका लागि आमाको हत्या (भिडियोसहित)


मेचीकाली

काभ्रे-दुई तोला सुन र केही नगदका लागि मान्छेले मान्छेकै हत्या गर्ला ? पत्याउन मुस्किल पर्छ । तर, काभ्रेमा यस्तै घटना घटेको छ । र, घटनामा बाहिरी मान्छे होइन आफ्न छोरा संलग्न भएको खुलेको छ, जसले दुई तोला सुन र केही हजार नगदका लागि आफ्नै आमाको हत्या गरे ।

रोशी गाउँपालिका ३ भन्ज्याङकी ६९ वर्षीया माइली लामाको कार्तिक १६ गते हत्या भयो । घटनाको खबर पाएलगत्तै अनुसन्धानमा जुटेको प्रहरीको टोलीले सुरुमा शंकास्पद ३ जनालाई पक्राउ गरेको थियो । तर, वयान र अन्य प्रमाणको आधारमा माइलीको हत्या उनका आफ्नै कान्छा छोरा फुर्साङ लामाले गरेको खुलेको छ । २८ वर्षका फुर्साङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । 

हत्या गरेर अर्कैको नाम

आमाको हत्या गरेपछि भागेर काठमाडौं जान लागेका फुर्साङ बनेपा आइपुगेका थिए । गाउँबाट घटनाबारे खबर आएपछि फर्किएका उनले प्रहरीलाई सोनाम ज्याकेट लाएको एकजना व्यक्ति खसी किन्न भन्दै घर आएको र आमासँग खसीको मोलभाउ गरिरहेको बेला आफूलाई ढिला भएकाले काठमाडौं फर्किएको बताए । उनले ती काल्पनिक पात्रको पुरै हुलिया बताएसँगै प्रहरीले उसको खोजी सुरु गर्यो । तर, तालिमप्राप्त कुकुरसहित अनुसन्धानका अन्य विधिले शंकाको सुई फुर्साङतिरै तेर्स्याएपछि उनले वयानको क्रममा हत्या गरेको स्वीकार गरेका थिए ।

कानको मुन्द्री र पैसाको लोभमा हत्या

काठमाडौंमा बस्दै आएका फुर्साङ ठमेलको रात्रीकालिन बजारमा काम गर्ने गर्थे । पछिल्लो समय बेरोजगार भएका उनी अरुको पैसा उठाइदिने काममा लागेका थिए । तर, पछिल्लो समय पैसा नभएपछि घर आएका उनको साथमा १४ सय रुपैयाँ मात्र थियो । तिहारको समयमा घर आएका उनले आमाले लगाएको कानको मुन्द्री र आमासँग भएको पैसा देखे । त्यसपछि हत्याको योजना बनाएका उनले सुरुमा आमालाई दुईपटक लोहोरोले प्रहार गरे । त्यति गर्दा पनि आमाको मृत्यु नभएपछि झ्यालको आग्लोले प्रहार गरे । तर पनि आमा जिउँदै देखेपछि ढोकाको आग्लोले हानेर हत्या गरेका थिए । 

काभ्रे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले पक्राउ परेका फुर्साङको साथबाट नगद नौ हजार नौ सय रुपियाँ र २०६९ सालमा आमाको कानमा लगाएको रिङको बिल फेला पारेको बताएकी छन् । फुर्साङले आमाको हत्या गरेपछि घर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा सुन र रगत लागेको तीन हजार रुपियाँ फेला पारिएको छ । 

घटनाको अनुसन्धानमा यही कुकुर तिहारको दिन उत्कृष्ट पुरस्कार पाएको टाइगर नामक कुकुर प्रयोग गरिएको थियो । वागमति प्रदेशबाट उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत इप्रका मंगलटारका प्रहरी निरिक्षक कृष्ण गिरी र जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत प्रहरी निरिक्षक दिनेश कुँवर घटनाको अनुसन्धानमा संलग्न थिए । उनीहरुले २४ घण्टाभित्रै अभियुक्त पक्राउ गरेका हुन् । 

भिडियो :


प्रतिक्रिया



थप समाचारहरु