सामूदायिक साकोसमा डकैती, तालिमप्राप्त कुकुरसहित अनुसन्धान सुरु


मेचीकाली

पनौती–पनौती नगरपालिका वडा नं. ४ स्थित सामूदायिक बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय कार्यालय एक समूहले योजनावद्धरुपमा डकैती गरेको छ ।

गएराती ५ जनाको समूहमा रहेका लुटेराहरुले केन्द्रीय कार्यालयको सेफ तोडेर ३२ लाख ३१ हजार ७ सय ४५ रुपैयाँ लुटेको सहकारीले जनाएको छ । लुटेराहरु सबै हातमा पञ्जा र मास्क लगाएर सहकारीमा पसेको पाइएको छ ।

राती १ बजेर २० मिनेटतिर केन्द्रीय कार्यालय भवनको पश्चिमतिरबाट पसेका लुटेराहरुले सुरुपमा सहकारीको सुरक्षामा खटिएका सुरक्षा गार्डलाई नियन्त्रणमा लिएर हातगोडा बाँधिदिएका थिए । त्यसपछि गार्डको मुखमा टेप टासेर सहकारीका विभिन्न तल्लामा रहेका गेटको ताला फोड्दै सेफ भएको ठाउँमा पुगेका उनीहरुले सेफको लक फोडेर त्यहाँ भएको रकम लुटेका थिए । करिब १ घण्टाको बीचमा लुटपाट मच्चाएको समूहले सहकारीको सिसिक्यामेराको डिभिआर÷एनभिआरसमेत आफूसँगै लगेको छ । नगद र डिभिआरबाहेक कुनै पनि सामग्री चोरी नभएको संस्थाले जनाएको  छ ।

घटनाको करिब २० मिनेटपछि सुरक्षा गार्डले गुहार मागेपछि स्थानीयबासीले प्रहरी र सञ्चालक समितिलाई खबर गरेका थिए । घटनाबारे प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ । दुई जना सुरक्षा गार्डले पालैपालो सहकारीमा सुरक्षा दिँदै आएका थिए । अनुसन्धानका लागि प्रहरीले दुबै गार्डलाई नियन्त्रणमा लिएको छ । 

घटनाको प्रकृति हेर्दा योजनावद्धरुपमै लुटेराहरु सहकारीमा लुट्न आएको देखिएको अध्यक्ष प्रकाश बञ्जाराले बताए । लुटिएको रकम हिजो दिनभरको केन्द्रीय कार्यालयमा भएको कारोबारको रकम भएको बताउँदै उनले केन्द्रीय कार्यालयमा एक करोड रुपैयाँ नगदको बिमा गरिएको र त्यसको बिमा दाबीका लागि प्रक्रिया सुरु गरिसकिएको जानकारी दिए ।

सहकारीले आजै एक विज्ञप्ति जारी गर्दै यो घटना सहकारी क्षेत्रकै सुरक्षा चुनौतीको रुपमा देखिएकाले यसको अनुसन्धानका लागि सहयोग गर्न केन्द्र, प्रदेश र जिल्लास्तरसम्मका सहकारी संघहरुलाई आग्रहसमेत गरेको छ । घटनाको अनुसन्धानका लागि सबै विवरण प्रहरीलाई उपलव्ध गराइएको तथा घटनाबाट संस्था र संस्थाका शेयर सदस्यलाई कुनै पनि किसिको आर्थिक नोक्सानी नहुने सहकारीले जनाएको छ । घटनाका बाबजुद आज बिहान ९ बजेदेखि नै सहकारीका सबै सेवाहरु सुचारु रहेको अध्यक्ष बञ्जाराले जानकारी दिएका छन् ।


प्रतिक्रिया



थप समाचारहरु