काभ्रे– बिहे गर्न नमानेको र आफूबाट टाढा भएको भन्दै प्रेमिकाको हत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
रामेछापको मन्थली–१३ घर भइ बनेपा-१० बस्दै आएका ३७ वर्षका सन्तोष सुनारले ३३ वर्षकी प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेका हुन् । उप्रेतीको घर काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्क हो । उनी बनेपा-९ नयाँवस्तीमा बस्दै आएकी थिइन् । उप्रेतीको हत्या गरेको अभियोगमा सुनारलाई आइतबार मध्यरातमा एक ईटाभट्टाबाट पक्राउ गरिएको काभ्रे प्रहरीले जनाएको छ । उप्रेतीको शव आइतबार दिउँसो बनेपा नगरपालिका-१३ मा पर्ने भगवान थुम्की सामुदायिक जंगलमा फेला परेको थियो । उनी गत असार ३२ गतेदेखि हराएकी थिइन् ।
पक्राउ परेका सुनारले असार ३२ गते नै भेट्न बोलाएर उप्रेतीको हत्या गरेको वयान दिएका छन् । आफूहरू दुई वर्षदेखी सम्बन्धमा रहँदै आएको र पछिल्ला दिनमा उप्रेती आफूबाट टाढिदै गएको र बिहे गरौं भन्दा नमानेको सुनारले बताएका छन् । उप्रेतीको यस अगाडि दुईपटक बिहे भइसकेको र पहिलो र दोस्रो श्रीमानबाट एक एक सन्तान रहेको वताइएको छ ।
जिल्ला अदालतबाट चार दिनको म्याद लिएर सुनारमाथि अनुसन्धान अघि बढाइएको भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताएका छन् ।