काभ्रेमा एक वर्षमै ६३३ नयाँ उद्योग दर्ता, १५६ उद्योग खारेज


मेचीकाली

काभ्रे– काभ्रेपलाञ्चोकमा उद्यमशीलता विस्तार हुने क्रम निरन्तर बढिरहेको देखिएको छ। पछिल्लो आर्थिक वर्ष २०८२/०८३ मा मात्रै जिल्लामा ६३३ वटा नयाँ उद्योग दर्ता भएका छन्। उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार कृषि, पर्यटन, उत्पादन तथा सेवामूलक क्षेत्रका उद्योग थपिँदा जिल्लामा साना तथा घरेलु उद्योगको संख्या उल्लेखनीय रूपमा बढेको हो।

कार्यालय प्रमुख रबिन घिमिरेका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ६३३ नयाँ उद्योग दर्ता हुनुका साथै एक हजार ८४३ उद्योगको नवीकरण, १५६ उद्योग खारेजी, ६१ उद्योगको नामसारी, ११ उद्योगको ठाउँसारी, ८० उद्योगलाई प्रतिलिपि तथा ४३ उद्योगको पूँजी वृद्धि गरिएको छ।

नयाँ दर्ता भएका उद्योगमध्ये ५५ उत्पादनमूलक, ३१८ कृषि तथा वनजन्य, १०७ पर्यटन र १५३ सेवामूलक छन्। कानुनी संरचनाका आधारमा ५८९ प्राइभेट फर्म, २७ साझेदारी फर्म र १७ प्राइभेट लिमिटेड कम्पनी दर्ता भएका छन्।

वार्षिक नवीकरणतर्फ उत्पादनमूलक १५०, कृषि तथा वनजन्य ८७३, पर्यटन १९६ र सेवामूलक ६२४ गरी कुल १,८४३ उद्योगले नवीकरण गरेका छन्। यस्तै, उत्पादनमूलक ११, कृषि तथा वनजन्य ७६, पर्यटन १८ र सेवामूलक ५१ उद्योग खारेज भएका छन्।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा उत्पादनमूलक तीन, कृषि तथा वनजन्य ३१, पर्यटन चार र सेवामूलक २३ उद्योगको नामसारी गरिएको छ। प्रतिलिपि सेवाअन्तर्गत उत्पादनमूलक सात, कृषि तथा वनजन्य ३९, पर्यटन १३ र सेवामूलक २१ उद्योगलाई प्रतिलिपि प्रदान गरिएको छ। त्यसैगरी उत्पादनमूलक दुई, कृषि तथा वनजन्य दुई, पर्यटन तीन र सेवामूलक चार गरी ११ उद्योगको ठाउँसारी तथा उत्पादनमूलक चार, कृषि तथा वनजन्य १८, पर्यटन चार र सेवामूलक १७ उद्योगको पूँजी वृद्धि गरिएको कार्यालयले जनाएको छ।

उद्योग प्रशासनतर्फका सेवा प्रवाहबाट कार्यालयले एक वर्षमा एक करोड ३८ लाख ८१ हजार ७५० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

वाणिज्य प्रशासनतर्फ पनि सेवा विस्तार भएको कार्यालयको तथ्याङ्कले देखाउँछ। यस अवधिमा २९९ नयाँ व्यवसाय दर्ता, १,२६१ नवीकरण, १२३ खारेजी, १६ नामसारी, नौ ठाउँसारी, ६७ प्रतिलिपि तथा ८४ पूँजी वृद्धि सम्बन्धी सेवा प्रदान गरिएको छ।

हालसम्म काभ्रेपलाञ्चोकमा ७११ लघु उद्योग, ९,४५४ प्राइभेट फर्म, ५०० साझेदारी फर्म र ४६५ प्राइभेट लिमिटेड कम्पनी गरी कुल १६ हजार १९६ उद्योग दर्ता भएका छन्। वाणिज्यतर्फ भने हालसम्म ८,२८३ व्यवसाय दर्ता भइसकेका छन्।

प्रतिक्रिया



थप समाचारहरु

 

कहिले बन्ला बनेपाको शीत भण्डार ?

 

नयाँ JAECOO J6T अब बनेपामा