बाढीपहिरोले थलिएको पनौती जलविद्युत केन्द्र पुनः सञ्चालन हुन अझै एक वर्ष लाग्ने


मेचीकाली

काभ्रे-नेपालको तेस्रो जलविद्युत आयोजना पनौती जलविद्युत केन्द्र २०८१ साल असोजमा आएको बाढीपहिरोपछि बन्द भएको उत्पादन अझै सञ्चालनमा आउन सकेको छैन। केन्द्रका अनुसार पुनः विद्युत उत्पादन सुरु गर्न बढीमा एक वर्ष लाग्ने अनुमान गरिएको छ।


२०८१ असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको पहिरोले केन्द्रको पावर हाउसमा ठूलो क्षति पुर्‍याएको थियो। पहिरोसँगै आएको लेदो, ढुंगा र पानी पावर हाउसभित्र प्रवेश गर्दा तीनवटै टर्बाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभीआर प्रणालीलगायतका महत्वपूर्ण उपकरण डुबानमा परेका थिए। त्यसैगरी रोसी खोलामा आएको बाढीले खोलाको धार परिवर्तन गर्दै बाँधमा समेत क्षति पुर्‍याएपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो।


केन्द्र प्रमुख शिवराज तिमिल्सिनाका अनुसार प्राकृतिक विपद्का कारण करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको छ। उहाँले कन्ट्रोल प्रोटेक्सन प्यानल, स्विचगियर, सिङ्क्रोनाइजिङ प्यानललगायतका विद्युतीय उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको जानकारी दिनुभयो।


बाढीपछि हालसम्म पावर हाउसभित्र थुप्रिएको माटो र लेदो हटाउने काम सम्पन्न गरिएको छ। साथै प्रयोग गर्न सकिने र प्रतिस्थापन गर्नुपर्ने उपकरणको छुट्टाछुट्टै मूल्याङ्कन गरी नयाँ उपकरण खरिदका लागि केन्द्रीय कार्यालयसँग बजेट माग गरिएको केन्द्रले जनाएको छ।


हाल केन्द्रमा सिभिलतर्फको पुनःनिर्माण तीव्र गतिमा भइरहेको छ। पावर हाउस वरपरको पहिरो नियन्त्रणका लागि रिटेनिङ वाल, प्लम वाल, ग्याबियन वाल, नाली निर्माण, पुलका रेलिङ मर्मत तथा जैविक इन्जिनियरिङका काम सञ्चालनमा छन्। यी निर्माण कार्य चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

उता, बाढीले क्षति पुर्‍याएका विद्युतीय उपकरण खरिदका लागि ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको छ। सिङ्क्रोनाइजिङ प्यानल, ब्रेकर, गभर्नर कन्ट्रोल प्यानल, युनिट कन्ट्रोल, प्रोटेक्सन प्यानल तथा भ्याकुम कन्ट्रोल प्यानल निर्माण व्यवसायीमार्फत जडान गरिनेछ। यससँगै केन्द्रले आफ्नै जनशक्तिबाट रनर मर्मत, आवश्यक परे प्रतिस्थापन तथा मेकानिकल प्रणालीको ड्राइ टेस्ट गर्ने तयारीसमेत अघि बढाएको छ।

केन्द्र प्रमुख तिमिल्सिनाले निर्माण व्यवसायीले निर्धारित समयमै काम सम्पन्न गरे विद्युत उत्पादन आठ महिनाभित्रै सुरु हुन सक्ने सम्भावना रहेको बताउनुभयो। अन्यथा बढीमा एक वर्षभित्र अर्थात् आर्थिक वर्ष २०८३/८४ को असार मसान्तसम्म केन्द्रबाट पुनः विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ।


बाढीपहिरोबाट क्षति पुगेको केन्द्र पुनः सञ्चालनमा ल्याउन करिब सात करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

तत्कालीन सोभियत सङ्घको सहयोगमा वि.सं. २०१७ सालमा निर्माण सुरु भएको पनौती जलविद्युत केन्द्र २.४ मेगावाट क्षमताको आयोजना हो। २७ करोड रुपैयाँको लागतमा निर्माण भएको यस आयोजनाको उद्घाटन वि.सं. २०२२ साल असार ३१ गते तत्कालीन राजा महेन्द्रबाट गरिएको थियो।


प्रतिक्रिया



थप समाचारहरु