जनकल्याण माविको ५८ औं बार्षिकोत्सव


मेचीकाली

बुचाकोट (नमोबुद्ध)–जनकल्याण माध्यामिक विद्यालय नमोबुद्ध नगरपालिका–२ को बार्षिकोत्सव नमोबुद्ध नगरपालिका प्रमुख टी.पी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बार्षिकोत्सवकै अवसरमा विद्यालयमा स्थापना गरिएको सुविधासम्पन्न पुस्तकालय र शौचालयको उद्घाटनसमेत गरिएको छ । नगर प्रमुख तिमल्सिनाले पुस्तकालय र शौचालयको उद्घाटन गरेका थिए । प्रदेश सरकारले नमोबुद्ध नगरपालिकामार्फत उपलव्ध गराएको ६ लाख ५० हजार रुपैयाँमा पुस्तकालय स्थापना गरिएको हो भने शिक्षा विकास तथा समन्वय इकाईमार्फत प्राप्त १५ लाख ४९ हजार रुपैयाँको लागतमा अपांगमैत्री, बालमैत्री शौचालय निर्माण गरिएको हो ।
कार्यक्रममा पुस्तकालय र शौचालय निर्माणमा सहयोग गर्ने तथा विद्यालयका सहयोगीहरुलाई सम्मानसमेत गरिएको छ । सम्मानित हुनेहरुमा निर्माण व्यवसायी चन्द्रवहादुर घलान, इन्जिनियर श्रेया झा, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष बिदुर अधिकारी, पूर्वप्रधानाध्यापक नारायण शर्मा तिमल्सिना, वडाअध्यक्ष सञ्जीव ढकाल, सहयोगी दाताहरु केदारप्रसाद आचार्य, कृष्णहरि आचार्य र शंकर गिरी रहेका छन् । उनीहरुलाई नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सम्मानपत्र प्रदान गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रवहादुर सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक लक्ष्मी अधिकारीले स्वागत मन्तव्यसहित विद्यालयको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा काठमाडौं स्कुल अफ ल का प्रमुख डाक्टर युवराज संग्रौला, नमोबुद्ध नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचि जनार्दन रिजाल, वडा अध्यक्ष सञ्जीव ढकाल, नेकपा एमाले नमोबुद्ध नगर कमिटीका अध्यक्ष कृष्ण खनाल, सामाजिक एव) राजनीतिक व्यक्तित्व कृष्णचन्द्र आचार्य लगायतले मन्तव्य राखेका थिए । २०२१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल २ सय ५ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया



थप समाचारहरु