धुलिखेल– काठमाडौँ विश्वविद्यालय (केयू) को २७ औँ दीक्षान्त समारोहको पहिलो चरणमा एक हजार चार सय बिद्यार्थीहरु दीक्षित हुने भएका छन् । विश्वबिद्यालयका परीक्षा नियन्त्रक डा. पन्ना थापाले २७ औँ दीक्षान्त समारोह अन्र्तगत बुधबार पहिलो चरणमा एक हजार चार सय ४९ बिद्यार्थी दीक्षित हुने बताउनुभयो । उहाँले यस वर्ष स्कुल अफ आर्टस्का २३४ जना, स्कुल अफ एजुकेशनका १०४ जना, स्कुल अफ इन्जिनियरिङका २९ जना, स्कुल अफ ल का ४० जना, स्कुल अफ म्यानेजमेन्टका ४१९ जना, स्कुल अफ मेडिकल साइन्सेजका ५८१ जना र स्कुल अफ साइन्सका ४२ जना बिद्यार्थी दीक्षित हुने बताउनुभयो । परीक्षा नियन्त्रक डा. थापाले यस वर्ष आर्टस्, एजुकेशन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्सका १२ जना बीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुने बताउनुभयो ।
उहाँले दीक्षित हुने बिद्यार्थीमध्ये ४८.४५ प्रतिशत(सात सय दुई जना) पुरुष र ५१ दशमलव ५५ प्रतिशत(सात सय ४७) जना महिला रहेका छन् । यस वर्ष बङ्गलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका, र रुस गरी आठ देशका १२३ जना बिद्यार्थी समेत दीक्षित हुने विश्वविद्यालयले जनाएको छ । केयूले यस वर्ष माष्टर इन पब्लिक पोलिसी एण्ड म्यानेजमेन्टमा ११ जना, माष्टर इन एजर्नी एफिसेन्ट विल्डिङ डिजाइनमा तीन जना र माष्टर वाइ रिसर्च इन सिभिल इन्जिनियरिङमा दुई जना गरी १६ जनालाई केयूको इतिहासमा पहिलोपटक उपाधी प्रदान गर्ने जनाइएको छ ।
२७ औँ दीक्षान्त समारोहसम्म आईपुग्दा केयूबाट अफ आर्टस्का तीन हजार २९ जना, स्कुल अफ एजुकेशनका एक हजार ६२८ जना, स्कुल अफ इन्जिनियरिङका तीन हजार ९५४ जना, स्कुल अफ ल का ११६ जना, स्कुल अफ म्यानेजमेन्टका छ हजार ८०६ जना, स्कुल अफ मेडिकल साइन्सेजका १७ हजार ६९३ जना र स्कुल अफ साइन्सका तीन हजार ३९१ जना गरी कुल ३६ हजार ६२४ दक्ष बिद्यार्थीहरु उत्पादन भएका छन् । पत्रकार सम्मेलनमा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले कोरोनाको जोखिम कायम रहेपनि विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाएर दीक्षान्त समारोहको सम्पन्न गरिने बताउनुभयो । उहाँले विश्वविद्यालयको ३० वर्षे इतिहासमा थोरै जनशक्ति उत्पादन गरेको देखिएता पनि धेरै विषयका जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको सूचीमा केयू अग्रणी रहेको बताउनुभयो ।
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार डा. सुबोध शर्माले २७ औँ दीक्षान्त समारोहमा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा. पङ्कज मित्तलले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुको साथै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यक्षता र शिक्षामन्त्री देवेन्द्र पौडेलले सहकुलपतिको भूमिका निर्वाह गर्ने बताउनुभयो ।