बदनसँग वार्ता : बाचा पुरा गर्ने इमान्दार जनप्रतिनिधि पायौँ भन्ने अनुभूत हुने काम गर्नेछु


मेचीकाली

हाम्रा नीति कार्यक्रम र बाचापत्रहरुमा जनता कन्भिन्स भएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेर मलाई चुनाव जिताउनुभयो । जनताले नयाँ र वैकल्पिक शक्तिलाई अनुमोदन गरे ।


प्रतिनिधि सभा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी हुनुभएका बदनकुमार भण्डारीले नेकपा एमाले निकट अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । नेकपा एमाले विभाजनपछि नेकपा समाजवादीमा प्रवेश गर्नुभएका भण्डारी पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशसँगै काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ मा नेपाली काङ्ग्रेसका उम्मेदवार मधुप्रसाद आचार्यलाई ३५ हजार ४७६ मतान्तर पछि पार्दै विजयी हुनुभएको छ । उहाँसँग प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा विजयी हुनुको कारणलगायतको विषयमा गरिएको कुराकानी 

तपाईले चुनाव के कारणले जित्नुभयो ? 

जेनजी पुस्ताको आन्दोलनका कारण २०८४ मा हुनुपर्ने निर्वाचन अगाडि नै भयो । पुरानो दलहरुबाट अब हुँदैन नयाँलाई दिनुपर्छ भन्ने अभिमत देखियो । यस्तै अर्को कुरा युवा र भ्रष्टाचारमा संलग्न नभएको व्यक्ति पनि जनताले खोजेका थिए र जनताले सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्नेमा बढी केन्द्रित भएको कारणले गर्दा हामीले सुशासन कायम गर्ने जनताको अपेक्षा थियो । हाम्रा नीति कार्यक्रम र बाचापत्रहरुमा जनता कन्भिन्स भएर राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेर मलाई चुनाव जिताउनुभयो । जनताले नयाँ र वैकल्पिक शक्तिलाई अनुमोदन गरे ।

तपाईले अब के काम गर्नुहुन्छ ? 

हाम्रो पहिलो काम चाहिँ जेनजी पुस्ताको आन्दोलनले खोजेको जुन भावना थियो त्यसलाई हामीले स्थापित गर्नु पर्नेछ । मुख्य रुपमा सुशासन कायम गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने तिर हामी केन्द्रित हुनपर्ने छ र आन्दोलनको विषयमा कार्की आयोगको प्रतिवेदन छ त्यो प्रतिवेदनलाई पनि कार्यान्वयन गर्नु पर्नेछ । साथै हामीले मसिनो ढङ्गले सुशासन मात्रै नभएर विकासका लागि, समृद्धिका लागि नीतिगत ढङ्गबाट र सरकारको कार्यक्रमिक ढङ्गबाट पार्टीको स्पष्ट बहुमत र दुई तिहाइको नजिकको परिणाम आइसकेको अवस्थामा ति कामहरुमा केन्द्रित भएर म र मेरो पार्टी तिर केन्द्रित हुनेछ । यस्तै क्षेत्र नम्बर– २ मा नीतिगत ढङ्गबाट के कस्ता क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ त्यो विधायिकाको हिसाबले विधेयक निर्माणदेखि विकासका पनि सरकारबाट सडक सञ्जाल, कृषि, रोजगारीका कुराहरु छन् समग्र क्षेत्रमा केन्द्रित भएर म काम गर्ने छु । 

चुनाव अघि जनतालाई दिएका वाचाहरु कसरी पुरा गर्नुहुन्छ ? ती वाचा पुरा गर्न सम्भव छ ? 

चुनाव अगाडी हामीले असम्भव वाचाहरु राखेका छैनौ किनभने चुनाव अगाडकिो निर्वाचन लड्दा दलहरुले जहाँ गए त्यही त्यहाँका विकास निर्माणका कामहरु गर्दिने भन्ने किसिमको परम्परालाई हामीले तोडेका छौ । हामीले इमान्दार प्रयत्न गर्ने र नीतिगत ढङ्गबाट काम गर्ने र आफ्नो भूमिकालाई पूर्ण रुपमा पालना गर्ने भनेर आएका छौ । चुनावअघि असम्भव वाचाहरु नगरिएको कारणले गर्दा खेरि हामीले बाचा नगरेका कुराहरु पनि हामीले गर्नुपर्ने छ । म किसानको छोरो यही ठाउँको मान्छे मलाई यहाँका समग्र समस्याहरुको पहिचान छ पहिचान भएका समस्याहरु मेरो क्षेत्रमा भूमिका निर्वाह गर्नेछु । जनताहरुलाई बाचा गरिएको भन्दा बढी अनुभूत हुने किसिमले काम गरिनेछ, बाचा गरिएका कुराहरु त अक्षरसः पालना गरिने छ । हामीले गरेको बाचा पुरा गर्न राष्ट्रिय राजनीति, राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय परिवेश सबै कुराहरु मिल्नु पर्छ त्यसकारणले गर्दा अधिकांश कुराहरु पुरा हुने वाचाहरु भएको कारणले गर्दा बाचा पुरा हुन्छ र जनताहरुले बाचा पुरा गर्ने झुट नबोल्ने इमान्दार जनप्रतिनिधि पायौँ भन्ने अनुभूत हुने किसिमले काम हुन्छ । 


प्रस्तुति : केदार तिमल्सिना


प्रतिक्रिया



थप समाचारहरु