मधुसँग वार्ता : जनता र भुगोलको आवाज उठाएकै कारण चुनाव जितेँ


मेचीकाली

जनताहरु पुराना पार्टीहरुको कामबाट रिसाइरहनु भएको थियो, काम नभएको विषयमा रिसाइरहनु भएको थियो त्यो विषय मैले जनताकोबिचबाट आवाज उठाए अनि जनताले मेरो आवाजलाई पनि विश्वास गर्नुभयो । 

प्रतिनिधि सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्र नम्बर–१ मा कम्यूनिष्ट र नेपाली काङ्ग्रेसको किल्ला तोडेर नेपाली काङ्ग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई दश हजार ४५२ मतले पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मधुकुमार चौलागाँई विजयी हुनु भएको हो । विभिन्न राजनीतिक दलमा सक्रिय राजनीति गर्दै पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशसँगै काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–१ मा उम्मेदारी दिएर बाट निर्वाचन जित्नु भएका चौलागाँई कानुन व्यवसायी हुनुहुन्छ । निर्वाचन जित्नुको मुख्य कारण, अबको कामका विषयमा उहाँसँग गरिएको कुराकानीको सार संक्षेप 


के कारणले निर्वाचन जित्नुभयो ? 

सबभन्दा पहिलो कुरा त जनता जुन ढङ्गले पुराना पार्टीहरुसंग फ्रस्ट्रेट (निरुत्साहित) भएर बसेका थिए । जनताहरु पुराना पार्टीहरुको कामबाट रिसाइरहनु भएको थियो, काम नभएको विषयमा रिसाइरहनु भएको थियो त्यो विषय मैले जनताकोबिचबाट आवाज उठाए अनि जनताले मेरो आवाजलाई पनि विश्वास गर्नुभयो ।  अर्कोतिर मैले मेरो भूगोलको विषयमा धेरै आवाजहरु उठाए मेरो भूगोलको सम्पदाको विषयमा प्राकृतिक सम्पदाहरुलाई कसरी संरक्षण गर्ने ? कसरी सदुपयोग गर्ने ? कसरी अवस्था परिवर्तन गर्न सकिन्छ ? भन्ने विषय मैले उठाए र अर्कोतिर भौतिक पूर्वाधारको सुधारका निमित्त मैले आवाजहरु उठाए त्यसकारणले जनताले मलाई विश्वास गर्नुभयो र मैले चुनाव जिते भन्ने लाग्छ । 


निर्वाचन जित्नुभएको छ, अब के काम गर्नुहुन्छ ?  

भौतिक पूर्वाधार सुधारमा मेरो पहिलो प्राथमिकता हुन्छ । भौतिक पूर्वाधारमा पनि सडकको अवस्था लथालिङ्ग छ त्यो चाहि प्राकृतिक विपत निम्त्याउने क्रममा पनि रहेछ । सडक खन्ने बेलामा गरिएका गल्ती कमजोरीहरुको कारणले गर्दा त्यसलाई सुधार गर्नुपर्ने र प्राकृतिक विपत्तिहरुलाई न्यूनीकरण गर्नुपर्ने र बैकल्पिक सवारी साधनको विकास गर्नुपर्ने देखिन्छ । हामीले सधै रोडलाई मात्रै प्राथमिकता दियौ अरु पनि हुन्छन त्यस कुरामा मेरो प्राथमिकता हुनेछ । हाम्रो जति पनि सांस्कृतिक सम्पदाहरु छन् त्यो सांस्कृतिक सम्पदालाई संरक्षण सदुपयोग र त्यसलाई पर्यटकीय हबको रुपमा विकास गर्नुपर्ने छ । काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–१ अन्र्तगतको  भेडाबारी क्षेत्रमा ठुलो मात्रामा मयुर पाइँदो रहेछ, अहिलेसम्म हामी मयुर नाचेको हेर्नको लागि चितवन जाने गर्दथ्यौँ, अब मयूर नाचेको हेर्न चितवन हैन भेडाबारी आउनु पर्छ भनेर भेडाबारीलाई मयुर नाचेको हेर्ने एउटा पर्यटकीय हबको रुपमा विकास गर्नुपर्ने छ । खानीनहरुको उत्खननका विषयहरु पनि छन् जनताका बिचमा जनताको अपेक्षा पुरा गर्नका निमित्त प्राविधिक शिक्षा कृषिलाई जोड कृषि र शिक्षालाई प्राविधिक रुपमा जोड्ने कुराहरुलाई अघि बढाउनका लागि सहकार्य गर्नेछु । 

चुनावी अभियानका क्रममा जनतालाई दिनुभएको बाचाहरु कसरी पुरा गर्नुहुन्छ ? बाचा पुरा गर्न सम्भव छ ? 

मैले चुनाव अगाडी जनतासमक्ष दिएका बाचाहरु सामान्य छन् । मैले चुनावी अभियानका क्रममा दिएका बाचाहरु सामान्य भएकोले ती बाचा पुरा गर्नका लागि मैले जनस्तरबाट नै सहयोगको अपेक्षा गरेको छु । हामी नीति बनाउने पक्षमा छौ, नीति बनाउने मान्छेहरुको रुपमा हेरेर जनताले चुनेर पठाएका हुन् हामीले नीति बनाउँदै गर्दा जनताकैबिचमा बसेर कस्तो नीति बनाउने भन्ने विषय जनतासँग छलफल गर्छौ र जनताको बिचबाट आएको कुरा राज्यले अस्वीकार गर्न सक्दैन भन्ने कुरा हो त्यसकारणले मलाई सहज हुन्छ भन्ने लाग्छ । 


कस्ता कानुन निर्माणमा यहाँको ध्यान जान्छ ? 

नेपालमा कानुन कानुन छ तर कस्तो कानुन छ भने जनताको संरक्षण गर्ने काननु छैन । नागरिकलाई संरक्षण गर्ने कानुन बनाउदै गर्दा जस्तो किसानको कुरालाई हेर्ने हो भने किसानले कसरी सहज रुपमा मल बिउहरु पाउछन्, किसानले उत्पादन गरेको वस्तुको बजारीकरण कसरी हुन सक्छ ? उचित मूल्य कसरी पाउन सक्छन र उचित मूल्य प्राप्त गर्न र बजारीकरणका लागि हामीले कति कस्तो नीतिहरु कार्यान्वयन गर्ने ? र त्यो नीतिले उहाँहरुलाई कसरी सहज बनाउँछ भन्ने विषयमा नै मेरो नीति बनाउने कुरा केन्द्रित रहनेछ । अर्को तिर संविधानले परिकल्पना गरेको निःशुल्क स्वास्थ्य सुविधाको विषय पनि छ त्यो निशुल्क स्वास्थ्य सुविधा स्वास्थ्यमा सहज पहुँच त्यो विषय हामीले छुट्टै खालको नीति बनाउने पक्षमा छौ ।  यस्तै संविधानमा निःशुल्क शिक्षा हुनेछ भनेर तर निशुल्क शिक्षा पूर्ण रुपमा हुन सकेको छैन त्यो कसरी पूर्ण हुन्छ भन्ने विषयमा पनि हामीले नीति बनाउनु पर्ने छ । शिक्षा प्रणाली प्राविधिक हुनुपर्छ, उत्पादनसँग जोड्न सक्ने शिक्षा प्रणाली हुनुपर्छ साथै शिक्षा सूचना प्रविधिसँग जोडिएको हुनुपर्छ भन्ने पक्षमा छौ, त्यही नीति बनाउन मेरो भूमिका रहनेछ । 


प्रस्तुति : केदार तिमल्सिना



प्रतिक्रिया



थप समाचारहरु