सात सय एक पदका लागि करिब अठ्ठाइस सयको उम्मेदवारी


मेचीकाली

काभ्रे– यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी करिब दुई हजार आठ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको १३ वटा स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारहरुले आईतबार र सोमबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय काभ्रेका अनुसार काभ्रेको १३ वटा स्थानीय तहमा आवश्यक पर्ने ७०१ पदका लागि दुई हजार सात सय ७३ जनाले उम्मेदवारी दर्ता गराएके जनाएको छ । 

जिल्ला निर्वाचन अधिकृत उमेश राईले जिल्लाको पाँचखाल नगरपालिकामा २४१ जना, बनेपा नगरपालिकामा ३१६ जना, बेथानचोक गाउँपालिकामा १४५ जना, भुम्लु गाउँपालिकामा १९३ जना, मण्डनदेउपुर नगरपालिकामा २७६ जना, महाभारत गाउँपालिकामा १२६ जना र रोशी गाउँपालिकामा २३५ जनाले उम्मेदवारी दर्ता गराएको जानकारी दिनुभयो । यसैगरि जिल्लाको खानीखोला गाउँपालिकामा १११ जना, चौरीदेउराली गाउँपालिकामा १९३ जना, तेमाल गाउँपालिकामा २०४ जना, धुलिखेल नगरपालिकामा २३७ जना, नमोबुद्ध नगरपालिकामा २२८ जना, पनौती नगरपालिकामा २६८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

काभ्रेमा १३ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षका लागि ९१ जना, १३ जना उपप्रमुख तथा उपाध्यक्षका लागि ५८ जना, १३५ वडा अध्यक्षका लागि ६७० जना, २७० खुल्ला सदस्यका लागि एक हजार ३७ जना, १३५ जना दलित महिला सदस्यका लागि ४८७ जना र १३५ जना महिला सदस्यका लागि ४३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । 


प्रतिक्रिया



थप समाचारहरु