काभ्रेका सबै मतदान केन्द्रमा भोलीसम्म कर्मचारी पुगिसक्ने


मेचीकाली

धुलिखेल–जिल्ला निर्वाचन कार्यालय काभ्रेले भोलीसम्म सबै मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जनाएको छ । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेश राइले आवश्यक सामाग्री सहित कर्मचारीहरु आ–आफ्नो क्षेत्रमा प्रस्थान गरिसकेको जानकारी दिए ।

 उनका अनुसार काभ्रेमा निर्वाचनका लागि १९ सय ४ जना कर्मचारी खटिएका छन् । निर्वाचन मतदान केन्द्रमा मतदान अधिकृत ३ सय ८१ जना, सहायक मतदान अधिकृत ३ सय ८१ जना, सहायक कर्मचारी ७ सय ६१ जना र सहयोगी कर्मचारी ३ सय ८१ जना गरी १९ सय ४ जना कर्मचारी खटाइएको छ । निर्वाचन आयोगद्धारा स्वीकृत स्थानीय तह सदस्य निर्वाचन २०७९ बमोजिम आवागमन व्यवस्थापन सम्बन्धि मापदण्ड बमोजिम सवारी साधन अनुमति दिने काम भइरहेको समेत निर्वाचन कार्यालयले जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न आफुहरु प्रतिवद्ध रहेको बताएकी छन् । 

उनले जिल्लाका विभिन्न ठाउँमा शुक्ष्म अनुगमनकर्ता, अनुगमन टोली परिचालन गरिएको समेत जानकारी दिइन् । जिल्लाका कतिपय स्थानमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारबाट आचारसंहित उल्लंघनका उजुरी आएको भन्दै उनले यसबारे मौखिक जानकारी गराइएको बताएकी छन् । निर्वाचनको समयमा अत्यावश्यक सेवा अन्तर्गत स्वास्थ्य सेवा, एम्बुलेन्स तथा दमकल, सञ्चार तथा विद्युत आपुर्ति सुचारु गर्न निर्देशन दिइएको उनको भनाई छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशी, कालिजंग गण धुलिखेलका प्रमुख मिलन थापा, सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जिल्लाको सुरक्षा अवस्था, निर्वाचन तयारी लगायतको विषयमा जानकारी गराएका थिए । 

यस्तै जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख पुरुषेत्तमराज सेढाँईले कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिनाले सहज रुपमा सुचना संकलन गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।  


प्रतिक्रिया



थप समाचारहरु